Logo

बामदेव कहाँबाट चुनाव लड्लान्



काठमाडौं, ३१ साउन । बामदेव गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह प्रयोग गर्ने निर्णय लिएका छन् । उनको चाहनालाई दृष्टिगत गरी माओवादी केन्द्रले त्यसबारे औपचारिक निर्णय समेत लिइसकेको छ ।

कम्युनिस्ट पार्टीहरुलाई एक बनाउन सक्रिय बामदेवको चुनावी क्षेत्र बर्दिया क्षेत्र नं १ हो । उनी २०७४ को चुनावमा उक्त क्षेत्रबाट पराजित भएका थिए । नेपाली काँग्रेसका सञ्जय गौतमले बामदेवलाई पराजित गरेको घटनाले राजनीतिलाई नै तरंगित पारेको थियो । गौतमले चुनाव अघि प्रधानमन्त्रीको दाबी गरेका थिए ।

बर्दिया बामदेवका लागि कठिन क्षेत्र बन्यो । एमालेले इतिहासमै उत्कृष्ट चुनावी नतिजा ल्याउँदा बामदेव पराजित हुनुले उनको बर्दियामा पकड कमजोर भएको विश्लेषण भयो ।

पछिल्लो समय बामदेव प्यूठानलाई चुनावी क्षेत्र बनाउन सक्रिय छन् । उनीनिकटस्थहरुको सक्रियता प्यूठानमै छ । तर, उक्त क्षेत्रबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल निर्वाचित भएकी हुन् जो पाँच दलीय गठबन्धनमा उक्त पार्टीबाट शिर्ष बैठकमा प्रतिनिधित्व गर्दै आएकी छिन् । पौडेलविरुद्ध गौतमलाई सत्ता गठबन्धनले चुनाव लड्न साथ दिने सम्भावना देखिदैन ।

बामदेव त्यसो भए कहाँबाट चुनाव लड्लान् ? चासो बनेको छ । उनी बसोबास गर्दै आएको ललितपुरको भैंसेपाटी क्षेत्र क्षेत्र नं ३ हो जहाँ पम्भा भुसालले चुनाव जितेकी हुन् । बर्दिया क्षेत्र नं २ मा गौतम जान खोजे माओवादीका सन्तकुमार थारुले जितेको क्षेत्र हो । उक्त क्षेत्र माओवादीले बामदेवलाई छाड्नुपर्ने हुन्छ । यसकारण बामदेवको भूगोल नै कमजोर देखिएको छ ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्