Logo

अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा



काठमाडौं, भदौ १ । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक विग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा चालू खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालू खाता १ वर्षमा ५ अर्ब १७ करोडले घाटामा पुगेको छ ।

गत आर्थिक वर्षको १२ महिनामा कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले वृद्धि भई १७ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । निर्यातआयात अनुपात १० दशमलव ४ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ९.२ प्रतिशत मात्र रहेको थियो । नेपालको निर्यात व्यापार कमजोर र आयातमा भएको बढोत्तरीका कारण व्यापार घाटा बढेको हो ।

गत आर्थिक वर्षमा शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति १ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३१ लाखले घाटामा रहेको शोधनान्तर स्थिति १ वर्षमा २ अर्ब १४ करोडले घाटामा रहेको छ । आयातबाट विदेशी मुद्रा बाहिरिने बढी र विदेशी मुद्राभित्रिने क्रममा कमी भएका कारण शोधानान्तर घाटा भएको हो ।

रेमिट्यान्सबाट, पर्यटकको आगमनबाट र गैरसरकारी संघसंस्थाबाट भित्रिने विदेशी मुद्राको कमीका कारण नेपालमा विदेशी मुद्राको सञ्चिति पनि घटिरहेको छ । सरकारले विदेशी ऋण र अनुदानबाट विदेशी मुद्रा आर्जन गर्न नसकेका कारणले पनि शोधानान्तर र विदेशी मुद्रामा मुलुकलाई दबाब पर्दै आएको छ ।

अर्थतन्त्रका सूचकांक बिग्रँदो स्थितिमा जाँदै गर्दा चालू खाता घाटा र शोधनान्तर घाटा करिब एक वर्षको अवधिमा थप गहिरिएको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ ।

२०७९ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १३ खर्ब ३० अर्ब ६५ करोड तथा दायित्व १५ खर्ब ८८ अर्ब २७ रुपैयाँ करोड रहेको छ । फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति २ खर्ब ५७ अर्ब ६२ करोडले घाटामा रहेको छ । २०७८ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ८० अर्ब १२ करोडले बचतमा रहेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ८ महिनाको वस्तु आयात र ६ दशमलव ९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्