Logo

फोहोर झमेलाः बन्चरेडाँडामा उस्तै तनाव



काठमाडौं, भदौ १ । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा बन्चरेडाँडा ल्यान्डफिल्ड साइट मंगलबार दिनभरि तनावग्रस्त बनेको छ । विभिन्न मागसहित स्थानीयले फोहोर बोकेका गाडी अवरोध गरे भने सरकारले प्रहरी प्रशासनको सहयोगमा बलजफ्ती फोहोर विसर्जन गर्ने कदम चाल्यो ।

स्थानीय र प्रहरीबीच दिनभर नै स्थिति तनावपूर्ण रह्यो । बाटोबाटोमा प्रहरी खटाएर फोहोर विसर्जन प्रयास गरिए पनि डाँडा, खेत, पाखामा बसेका स्थानीयले ढुंगा बोकेर अवरोध गरिरहे । प्रहरीले डाँडामा भेला भएर ढुंगा हान्ने स्थानीयलाई तितरबितर पार्दै फोहोर व्यवस्थापन गरेको छ ।

प्रहरीले बलजफ्ती फोहोर फाल्न खोज्दा झडपको स्थिति आएको हो । झडपक्रममा प्रहरीको अश्रुग्यास लागेर एक स्थानीयवासी घाइते भएका छन् । धुनिबेंसी–१ चिलाउनेका करिब २६ वर्षीय कमल तामाङ प्रहरीको अश्रुग्यासको सेल लागेर घाइते भएका हुन् ।

प्रहरीले प्रहार गरेको अश्रुग्यासको सेल आँखाको माथिल्लो भागमा लागेको छ । स्थानीयले भने अश्रुग्याँस नभएर प्रहरीले गोली चलाएको दाबी गरेका छन् । महानगरपालिकाका अनुसार मंगलबार १ सय ८६ गाडीले बन्चरेडाँडामा फोहोर विसर्जन गरेका छन् ।

यसअघि, धादिङ धुनिवेंशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्र अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी अध्यक्ष भीषण धितालले संयुक्त व्यक्तव्य जारी गर्दै ‘बन्चरेडाँडामा फोहोर फाल्न नदिने’ घोषणा गरेका थिए । अहिले उनीहरूकै अगुवाइमा आन्दोलन भइरहेको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार स्थानीयका ‘एउटा समस्या हल गर्नेबित्तिकै अर्को समूह सडकमा उत्रिएर आन्दोलन गर्ने गरेका कारण फोहोर व्यवस्थापनमा समस्या हुने गरेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्