Logo

कांग्रेसले ८० सिट वरिपरि मान्यो भने तालमेल सजिलो हुन्छः रामनारायण बिडारी



काठमाडौं, १ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले गठबन्धनका कुनै पनि दललाई अप्ठ्यारो नपर्ने गरी सिट बाँडफाँट हुनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बिडारीले भने, “कांग्रेसका प्रतिगामीलाई सहयोग गर्ने खालको नेताले सय सिट भनेका होलान् । हामीले कांग्रेसले जति छाड्यो भने त्यति लिने होइन, कांग्रेसले पनि हामीले जति छाड्यो, त्यति पाउने हो । कांग्रेसले ८० को वरिपरि मान्यो भने बाँडफाँट सजिलो हुन्छ । तर सिट बाँडफाँडमा कांग्रेसलाई पनि अप्ठ्यारो हुनभएन । अहिले कसैले पनि १६५ सिट मागेको छैन । त्यहीँभित्रका कुरा हुन् ।”
नेपाली कांग्रेस पुँजीवादी पार्टी भए पनि प्रतिगामी नभएको उनको जिकिर छ । बिडारीले भने, “प्रचण्ड क्रान्तिकारी र सशक्त नेता हो । उहाँ सशक्त नभए प्रतिगामी शक्तिले टाउको उठाउँछन् । अहिलेको नजरमा एमालेभित्र प्रतिगामी तत्त्वको नेतृत्व छ । तर त्यहाँ त्यसको विरोध गर्ने मान्छे पनि छन् । कांग्रेस पुँजीवादी भए पनि प्रतिगामी काम गरिराख्या छैन । टाउको मोल तोकेको कुरा इतिहास भइसक्यो । सधैं त्यसलाई सम्झेर दुश्मनी गर्नुहुँदैन । संविधान र व्यवस्थामा जोगाउन हामी मिलेका हौं ।”
बाबुराम भट्टराई र बामदेव गौतम माओवादी केन्द्रमा मिल्दा नारायणकाजी श्रेष्ठ पनि ठूलो नेता हुने बिडारीको जिकिर छ । उनले थपे, “पार्टी जति ठूलो हुन्छ, त्यति ठूलो नेता हुने हो । नारायणकाजी अहिले राष्ट्रिय सभामा सदस्य हुनुहुन्छ । पाँच वर्ष पदावधि बाँकी छ । त्यो छाडेर उम्मेदवारी दिने कुरा उपयुक्त होला र ?” आफूले यसपटक मकवानपुर क्षेत्र नं २ बाट चुनाव लड्न सिट मागेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्