Logo

सञ्चिति बढ्दा अर्थतन्त्रलाई राहत



काठमाडौं, भदौ १ । आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको मुलुकको अर्थतन्त्र असारसम्म आइपुग्दा भने केही सहज अवस्थामा पुगेको छ ।

नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार बैङ्किङ क्षेत्रसँग गत असारसम्म १२ खर्ब १५ अर्ब ८० करोड रुपियाँ (नौ अर्ब ५४ करोड डलर) विदेशी मुद्रा सञ्चिति रहेको छ । यो सञ्चिति ७.८ महिनाको वस्तु आयात र ६.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

विदेशी मुद्रा सञ्चिति घटेर छ महिनाको मात्र वस्तु तथा आयात धान्न सक्ने अवस्थामा रहेको मुलुकको अर्थतन्त्रका लागि पछिल्लो सञ्चिति अवस्थाले केही राहत पु-याएको छ ।

पछिल्लो सञ्चिति अवस्था २०७८ असारको तुलनामा १३.१ प्रतिशतले कम भए पनि गत आवको अन्त्यसम्म आइपुग्दा भने घट्दो सञ्चितिमा सामान्य भए पनि सुधार आएको देखिन्छ । बढ्दो आयात नियन्त्रणको उपायस्वरूप गत वैशाख दोस्रो सातादेखि विभिन्न दस वस्तुको आयातमा लगाइएको प्रतिबन्धले घट्दो सञ्चितिको दबाबलाई मत्थर बनाएको छ । आयात प्रतिबन्धको उक्त व्यवस्था भदौ दोस्रो सातासम्मका लागि कायम छ ।

प्रतिवेदनअनुसार गत आवमा नेपालले १९ खर्ब २० अर्ब रुपियाँको वस्तु आयात गरेको छ । जुन् अहिलेसम्मकै उच्च हो । आव २०७७/७८ को तुलनामा भन यो आयात २४.७ प्रतिशतले बढी हो । निर्यात भने दुई खर्ब तीन करोड रुपियाँ पुगेको छ । गत आवमा नेपालको निर्यातमा ४१.७ प्रतिशतले सुधार आएको हो । यस हिसाबले गत आवमा मात्रै नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपियाँ पुगेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्