Logo

एमालेलाई तराईमा धक्का पर्न सक्ने, पहाडमा आशावादी



काठमाडौं, १ भाद्र । नेकपा एमालेले मंसिर ४ को चुनावमा तराईको सीमावर्ती क्षेत्रहरुबाट खासै आश गरेको छैन । उसले पछिल्लो समय यही कारण पनि नागरिकताको विषयमा सत्ता गठबन्धनभन्दा फरक अडान लियो । एमालेले लिएको यही अडानका कारण पहाड र चुरे भावर क्षेत्रका मतदाता आकर्षित हुने आशा राखेको देखिन्छ ।

एमालेले सबैभन्दा बढी आशा काठमाडौंबाट राखेको छ । उसले काठमाडौंको १० मध्ये कम्तिमा ४ क्षेत्र जित्नसक्ने आँकलन गरेको बुझिएको छ । भक्तपुरको एक क्षेत्र र ललितपुरको ३ मध्ये कुनै एक क्षेत्र जित्ने आशा राखेको छ । काभ्रे र सिन्धुपाल्चोकमा पनि एमालेको आशा देखिन्छ । धादिङ, मकवानपुरमा पनि एमाले आशावादी देखिएको छ ।

पूर्वका अधिकांश पहाडी क्षेत्रमा एमालेले चुनाव जित्ने आशा राखेको छ । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भएकाले त्यहाँ पनि आशावादी देखिन्छ ।

महोत्तरी, सर्लाही, सिरहा, रौतहट, बारा, नवलपरासी, कपिलवस्तुलगायतका चुरे क्षेत्र पर्ने चुनावी क्षेत्रमा पनि एमाले चुनाव जित्ने आँकलन गरेको बुझिएको छ । गण्डकी र लुम्बिनीमा एमालेले सबैभन्दा बढी आशा राखेको छ । उक्त क्षेत्रलाई एमालेको पकड क्षेत्र मानिन्छ ।

सत्ता गठबन्धनका पाँच दलसँग चुनाव लड्नुपर्ने भएकाले एमालेलाई सजिलो भने छैन । यसकारण चुनाव निकै प्रतिष्पर्धात्मक हुने विश्लेषण गर्न थालिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्