Logo

स्वास्थ्य मापदण्ड ख्याल गरेर रथयात्रा सम्पन्न गर्न आग्रह



काठमाडौँ,१ भदौ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं १ स्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

प्रदेश नंं १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रथयात्रा यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पत्र गर्न उनले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज रथयात्रा तथा सञ्चालन हुने स्थानबारे जानकारी लिएपछि मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुने गरी रथयात्राको व्यवस्थापन गर्न आग्रह गरे । विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ । उक्त रथयात्रामा लाखौँको सङ्ख्यामा नेपाल र भारतका भक्तजन सहभागी हुने गर्छन् ।

यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गर्दै झाँकी बाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ । छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश नं १ प्रमुखसहित मोरङ जिल्लास्थित सुरक्षा अधिकारीहरू उपस्थिति रहेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्