Logo

के काँग्रेसमा प्रत्यक्षतर्फ सांसदको चुनाव जित्नसक्ने महिला छैनन्



काठमाडौं, १ भाद्र । नेपाली काँग्रेसले १० महिलालाई केन्द्रीय सदस्य मनोनित गर्दा वाध्यकारी जसरी गर्यो । चुनावमा दल दर्ता गर्न ३३ प्रतिशत महिला केन्द्रीय कार्यसमितिमा अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण १० महिलाले अवसर पाए । त्यो पनि दल दर्ताको अन्तिम समयमा ।

नेपालको इतिहासमा प्रथम महिला मन्त्री बनाउने नेपाली काँग्रेस नै थियो । वीपी कोइराला नेतृत्वको सरकारमा द्वारिकादेवी ठकुरानी उपमन्त्री बनेकी थिइन् । २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा ठकुरानी चुनाव जित्ने एकमात्र महिला थिइन् । उनी डडेलधुराबाट निर्वाचित भएर इतिहास रचेकी थिइन् ।

नेपाली काँग्रेसले पहिलो महिला निर्वाचित सांसद र मन्त्री बनाएर इतिहास रचेको छ । तर, त्यही काँग्रेसले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एकजना महिलालाई नि प्रत्यक्षतर्फ प्रतिनिधि सभा सांसद निर्वाचित गर्न सकेन । निर्वाचनमा काँग्रेसबाट थोरैमात्र महिला प्रत्यक्ष सांसदमा उम्मेदवार खडा भए । जसमध्ये सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा पनि थिइन् । तर, उनी पनि पराजित भइन् ।

२०७४ मा सबैभन्दा बढी माओवादी केन्द्रले ३ जना प्रत्यक्ष निर्वाचित सांसद बनाउन सक्यो । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसदमध्ये शत प्रतिशत अर्थात् एकजनामात्र महिला सांसद दुर्गा पौडेल भइन् । सबैभन्दा बढी ८० प्रत्यक्ष निर्वाचित सांसद बनाउन सकेको नेकपा एमालेबाट २ जना मात्र महिला रहे । प्रत्यक्ष सांसद निर्वाचित गर्न सकेका काँग्रेससहित, राजपा, समाजवादी फोरम, नयाँ शक्ति, नेमिकिपा र राप्रपामा महिलाको संख्या सून्य रह्यो ।

त्यसो त नेपाली काँग्रेसमा प्रभावशाली महिलाहरु नभएका होइनन् । उपप्रधानमन्त्री भइसकेकी सुजाता कोइराला समानुपातिकतर्फ दुईपटक सांसद भइसकेकी छिन् । चित्रलेखा यादव उपसभामुख भइसकिन् । उपसभामुख पुष्पा भुसाल पनि यसपटक समानुपातिकमा बसिन् । काँग्रेसभित्र महिलाहरु सशक्त रुपमा अगाडि बढिसकेका छन् । तैपनि, उनीहरु प्रत्यक्षतर्फ कमैमात्र टिकट पाइरहेका छन् । पाएकाहरुलाई पनि जित्न कठिन हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्