Logo

घरेलु हिंसा न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी



काठमाडौँ,१ भदौ । समाजमा घरेलु हिंसा, कुटपिट, जबरर्जस्ती करणी, महिला तथा बालबालिकाका क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणमा न्यायिक समितिको भूमिका प्रभावकारी देखिएको छ ।

समाजमा हुने यस्ता खालका घटनाको छानविन तथा समस्याको समाधन गर्ने अधिकार न्यायिक समितिले पाएसँगै यस्ता घटनामा कमी आएको हो । भोजपुरको पौवादुङमा गाउँपालिकाले समाजमा हुने विभिन्न खालका घटनाको न्यूनीकरण अभियान नै सञ्चालन गरेर सचेतना फैलाइरहेको छ । कानुनी ज्ञानको अभावका करण गाउँघरमा हुने आपराधिक घटना न्यूनीकरणका लागि सचेतनाको अभियान थालेको हो ।

न्यायिक समितिले कानुनी सेवाको विषयमा जानकारी गराउने उद्देश्यले अभियानको थालनी गरेको छ । अभियानमार्फत घटनाको वर्गीकरण गरेर कस्ता घटनालाई स्थानीय तहले निरुपन गर्ने, कस्ता घटनाको मिलापत्र गर्ने, कस्ता घटना भए अदालत तथा प्रहरी समक्ष जाने लगायत विषयमा जानकारी दिँदै आएको छ ।

कानुनी ज्ञानको अभावले पनि विभिन्न आपराधिक घटना घट्ने गरेका छन् । कानुनी दण्ड, सजायसँगै कहीँकतैबाट अन्याय भएमा कसरी न्याय पाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन थालिएको हो । कार्यक्रममार्फत गाउँपालिकाभित्रका आमा समूह, महिला स्वास्थ्य स्वयम्सेविका, बालबालिका, विद्यार्थीलगायतलाई भेला पारेर सचेत गर्ने गरिएको छ ।

अभियानका क्रममा न्यायिक समितिको काम कर्तव्य र अधिकारसँगै समाजमा स्थानीयवासीले खेल्नुपर्ने सकारात्मक भूमिका विषयमा पनि जानकारी दिइएको छ । यो अभियान गाउँपालिकाका छवटै वडामा सञ्चालन गरिने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई बताउछिन् । “समाजमा हुने विभिन्न खालका घटना न्यूनीकरण गर्न अभियान सञ्चालन गरिरहेका छौँ,” उनले भने, “जनचेनता फैलाएसँगै यस्ता घटनामा क्रमिक रुपमा कमि आएको छ । हामीले सबै क्षेत्रका नागरिकलाई समेटर सचेतना कार्यक्रम गरिरहेका छौँ ।”

सचेतनामूलक कार्यक्रमको प्रभावले पछिल्लो समयमा न्यायिक समितिमा आउने मुद्दामासमेत कमि आएको उपाध्यक्ष राईले बताए । उनले भने, “हामीले समितिमा आउने मुद्दाको निरुपन गरिरहेका छौँ । मुद्दा नै नआउने वातावरण सिर्जना गर्न लागि परेका छौँ ।”

कानुनी चेतनासँगै गाउँपालिकाको न्यायिक समितिले प्रदान गर्ने अन्य सेवाको बारेमासमेत जानकारी पाएको स्थानीयवासीको भनाइ छ । गाउँपालिकाको सेवा वडास्तरमै पाउँदा स्थानीयवासी खुसी भएका छन् । गाउँपालिकाले गरेको यो काम प्रशंसायोग्य रहेको स्थानीयवासीले बताएका छन् । कानुनी ज्ञानको अभावमा हुने विभिन्न झन्झटबाट मुक्त हुने अवसर पाएको स्थानीयवासी ज्ञानुमाया राईले बताइन् । “ हामीलाई सामान्य कानुनी ज्ञान नहुँदा धेरै समस्या हुन्थ्यो,” उनले भने, “अहिले आफ्नै ठाउँमा कानुनी ज्ञान पाउँदा खुुसी लागेको छ ।”

गाउँपालिकाले वडास्तरमै न्यायिक समितिले प्रदान गर्ने कानुनी ज्ञान दिएपछि थप सहज भएको पौवादुङमा ६ का वडाध्यक्ष दक्षकुमार राईले बताए । कानुनी जानकारी स्थानीयवासीलाई दिएसँगै उनीहरुको चेतनास्तर वृद्धि भएको उनको भनाइ छ । रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot