Logo

देउवामाथि दबाब बढाउँदै प्रचण्ड, आधा आधा सिट मान्न वाध्य पार्दै



काठमाडौं, १ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काललाई समाजवादी केन्द्र बन्न नसक्ने भनेपनि उनको गतिविधि त्यसैतर्फ केन्द्रित बन्दै गएको छ । प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई मोर्चामा ल्याइसकेका छन् । दुवै नेता एउटै घोषणापत्र र चुनावचिन्हमा प्रचण्डसँग मिलेर निर्वाचनमा जान सहमत भइसकेका छन् ।

प्रचण्डको अबको ध्यान माधव नेपालतर्फ गएको छ । उनी माधव नेपालसँग पार्टी एकताकै लागि बढिसकेका छन् । ३१ साउनमा प्रचण्डले माधव नेपालसँग पार्टी एकताका लागि काम बढेको खुलाएका थिए ।

एउटै समाजवादी केन्द्र बनाउने गरी प्रचण्ड, बाबुराम, माधव नेपाल र बामदेव गौतम सक्रिय भएका थिए । चुनाव पछि मात्र केन्द्र बनाएर जाने तयारीमा रहेका उनीहरु अहिले नै अगाडि बढ्नु अर्थपूर्ण छ ।

काँग्रेसले प्रत्यक्षतर्फको १६५ मा एक सय सिटको अडान लिइरहेको छ । तर, बाँकी दलहरु ६५ सिटमा मात्र मान्न तयार छैनन् । यसकारण कुरा मिल्न सकेको छैन । एउटै समाजवादी केन्द्र बनाउने गरी प्रचण्ड, बाबुराम, माधव नेपाल र बामदेव एकजुट हुँदा देउवामाथि दबाब पर्न सक्छ । त्यसमाथि उपेन्द्र यादवलाई पनि साथमा ल्याउन प्रचण्डले तयारी गरिरहेका छन् ।

काँग्रेसले आधा अर्थात् ८३ र बाँकी दलले ८२ सिटमा चुनाव लड्ने गरी प्रचण्डले रणनीति बनाएका छन् । यसका लागि काँग्रेसलाई वाध्य पार्न पनि प्रचण्डले समाजवादी केन्द्र बनाउने अभियानलाई जगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्