Logo

माओवादी केन्द्रले आज पदाधिकारीको टुंगो लगाउँदै



काठमाडौं, भदौ २ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको सात महिनापछि पदाधिकारी टुंगो लगाउने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन सम्पन्न भएपछि पटकपटक पदाधिकारी टुंगो लगाउने तयारी गरे पनि सफल हुन सकेनन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा पदाधिकारीसहित रिक्त स्थानमा पदपूर्ति गर्नुपर्ने माग नेताहरूले गरेका छन् । उनीहरूले माग गरेपछि अध्यक्ष प्रचण्ड आन्तरिक तयारीमा जुटेका छन् ।

यद्यपि, बुधबार रातिसम्ममा ‘को कुन पदमा रहने भन्नेबारे टुंगो लागेको छैन । आज बिहीबार बिहान पुनः बस्ने स्थायी समिति बैठकबाट पदाधिकारीसहितका जिम्मेवारी टुंगो लगाउने तयारी भइरहेको स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा सांगठनिक विषयमा छलफल भएको बताउँदै महराले आज बिहीबारको बैठकले केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी टुंगो लगाउने दाबी गरेका छन् ।

महाधिवेशन सम्पन्न भए पनि माओवादीले अहिलेसम्ममा कुनै समितिलाई पूर्णता दिएको छैन । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय समितिदेखि नेताका जिम्मेवारी बाँडफाँटलगायत अपूरै छ ।माओवादी केन्द्रको विधानअनुसार पदाधिकारी टुंगो केन्द्रीय समितिबाट लाग्ने हो ।

‘भए सर्वसम्मतिमा नभए केन्द्रीय सदस्यको मतदानबाट पदाधिकारी टुंगो लगाउनुपर्ने वैधानिक व्यवस्था छ । तर, अध्यक्ष प्रचण्डले पुरानै स्थायी समितिलाई मान्यता विगतमा दिए । सो स्थायी समितिले समेत अझै पूर्णता पाएको छैन ।



प्रतिक्रिया दिनुहोस्