Logo

मेयर बालेन शाहले सत्तारुढ दलहरूलाई भने, “फोहोरलाई राजनीतीकरण गरेर चुनाव जितिँदैन, स्वस्थ राजनीति गर्नोस्”



काठमाडौं, २ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई फोहोरमा राजनीतीकरण नगर्न आग्रह गरेका छन् ।
“बन्चरेडाँडामा काठमाडौं महानगरको मात्र होइन, उपत्यकाका २३ वटा नगरपालिकाबाट फोहोर जान्छ । चुनाव आउँदैछ भनेर फोहोरमा राजनीतिकरण गर्ने कोसिस भयो । हामीलाई असहयोग गरेर चुनाव जितिँदैन । विरोध गरेर, काम गर्न नदिएर चुनाव जित्ने ५० वर्ष पुरानो टेक्निकले अब काम गर्दैन । सकभर स्वस्थ राजनीति गर्नुस् । राजनीति स्वस्थ नै हुनुपर्छ,” प्राइम एचडी टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मेयर शाहले भने ।
मेयर शाहले प्रधानमन्त्री शेरबहादुर देउवाबाट फोहोर व्यवस्थापनमा सहयोग पाएको पनि बताए । उनले भने, “मैले प्रधानमन्त्रीसँग भेटेर आफ्ना कुरा राखें । उहाँले मन्त्री, सम्बन्धित क्षेत्रका सांसदसँग सहजीकरण गर्न भन्नुभयो । प्रधानमन्त्रीबाट राम्रै सहयोग भएको छ । त्यसको रिजल्ट पनि देखिँदैछ ।”
आफू पूर्वसम्झौता बमोजिम नै अघि बढिरहेको उनले बताए । शाहले थपे, “हामीले सम्झौताअनुरुप नै काम गर्दैछौं । केही काम बर्खाले रोकियो । हामीले फोहोरमा औषधि पनि छर्छौं । तर पानी परेपछि डाइल्युट भयो र दुर्गन्ध फैलियो । बन्चरेडाँडामा सरकारले ५ अर्ब खर्च गरेको छ । यो ५० वर्षको गुरुयोजना हो ।”
मेयर शाहले महानगरले स्थानीयमाथि डन्डा नचलाएको पनि दाबी गरे । उनले भने, “महानगरको आफ्नै पुलिस प्रशासन छैन । हाम्रो १५, २० वटा टिप्पर र एक्साभेटर तोडफोड भएपछि गृहमन्त्रालयलाई सुरक्षा माग गरेका हौं । काठमाडौं फोहोरमुक्त हुन समय लाग्ने पनि उनले औंल्याए । शाहले थपे, काठमाडौंमा लगभग ३० दिनको ३० हजार मेट्रिक टन फोहोर छ । हामीसँग दुई सय गाडी मात्र छन् । कति समय लाग्छ, आफैं हिसाब गर्नुस् ।”



प्रतिक्रिया दिनुहोस्