Logo

इलाममा रोपाईंजात्रा मनाइयो



काठमाडौँ,२ भदौ । परापूर्वकालदेखि मनाउँदै आइएको रोपाइँ जात्रा आज इलाम बजारमा धुमधामका साथ मनाइएको छ । नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा यो पर्व मनाइएको हो ।

संस्कृतिको रक्षा र नयाँ पुस्तालाई पुराना कुराको जानकारी गराउने उद्देश्यले यो पर्व मनाइएको समाजका अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए । उनले यस वर्ष बन काइला र वन काइलीसमेत निकालिएको छ । जुन पहिला राज्य प्रमुख (राजा रानी) आउँदा इलाम बजारमा निकालिने गरिन्थ्यो ।

अघि अघि हल गोरु र हलीको वेषमा कलाकारबीचमा पञ्चेबाजासहित धान रोपेको अभिनयका साथमा कलाकारले रोपाइँ जात्रामा मनोरञ्जन दिने गर्दछन् । साथै मुङ्ग्रे, साधु, माग्ने र जोगीको अभिनयसहित कलाकारले बजार परिक्रम गरेका छन् ।

जिल्लाका विभिन्न बजारमा यो जात्रा मनाइने गरिएको छ । रोपाइँ गरेर गलेका किसानलाई मनोरञ्जन प्रदान गर्न सुरुमा यो पर्व मनाउन थालिएको बताइएको छ । विभिन्न बजारमा लाग्ने हटियाको दिन पारेर यो जात्रा निकालिन्छ ।

पश्चिमी क्षेत्रमा रहेको मङ्गलबारे बजारमा बुधबार धुमधामका साथ रोपाइँजात्रा पर्व मनाइएको छ । परम्परागत रुपमा मनाइँदै गरेको जात्रा यस वर्ष पनि मनाइएको हो । जात्रा स्थानीय भानुभक्त माविको आयोजनामा निकालिएको हो । विक्रम संवत् २०१८ बाट मनाइँदै आएको जात्रा कोरोनाका कारण यस अघिका दुई वर्ष र माओवादी द्वन्द्वका समयमा दुई वर्षबाहेक हरेक वर्ष मनाउँदै आइएको भानुभक्त माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशचन्द्र खनालले बताए । रासस



प्रतिक्रिया दिनुहोस्