Logo

पशु स्वास्थ्य विधेयकका त्रुटी सच्याउन माग गर्दै नेपाल भेटनरी एशोसिएसनद्वारा आन्दोलनको घोषणा



काठमाडौं, २ भदौ । नेपाल भेटनरी एशोसिएसनले गत साउन ३१ गते संसदले पारित गरेको पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयकमा भएका त्रुटीहरु संसोधन गरेर मात्र अघि बढाउन माग गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एसोसियशनले उठाएका जायज मागहरुको नजरअन्दान गरी उक्त विधेयक प्रतिनिधि सभाबाट पारित गरिएको भन्दै त्यसको विरोधमा कार्यक्रम सार्वजनिक गरेको हो ।

एशोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले आफुहरुले उठाएका मागहरुको नजरअन्दाज गरी संसदमा उक्त विधेयक पेश गरेको आरोप लगाएको छ ।

त्यसको विरोधमा आगामी भदौ १ गतेदेखि ५ गतेसम्म कार्यक्रमहरु सार्वजनिक गर्दै सम्पुर्ण सदस्यहरुलाई कार्यक्रममा सहभागिता जनाउन एसोसिएशनले आग्रह गरेको छ ।

विरोधस्वरुप भदौ १ गते कार्यस्थलमा कालोपट्टि बाँधेर विरोध जनाउने, भाद्र २ गते पेन डाउन, कामकाज बन्द गर्ने, त्यस्तै, भाद्र ३, ४ र ५ गते काठमाडौ केन्द्रित मेला, अत्यावश्यकका वाहेक उपचार सेवा बन्द गर्ने, प्रदेश समितिले तोकेको मितिमा प्रदेश भेला, भेटेरिनरी शिक्षा सञ्चालन हुने विश्वविद्यालय, कलेज, सिटिइभिटी र शिक्षा विभाग अन्तगतका स्कुलहरुमा अनिश्चितकालिन रुपमा अध्ययन अध्यापन बन्द गर्ने र अनिश्चितकालिन रुपमा पशुपन्छी स्वास्थ्य प्रमाणपत्र जारी नगर्ने जस्ता कार्यक्रम एसोसिएशनले सार्वजनिक गरेको छ ।

नेपाल भेटनरी एशोसिएसनका कार्यवाहक अध्यक्ष प्रा.डा.कृष्णभक्त काफ्लेले आफुहरुले उठाएका मागहरुको नजरअन्दाज गरी पेलेर संसदमा उक्त विधेयक पेश गरेर पारित गरेको भन्दै आपक्ति जनाए । उनले भने,‘एशोसिएसनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएका बैठकमा केही विषयमा लिखित असहमति जाहेर गर्दागर्दै पनि हाम्रो कुरा नसुनी पेलेरै विधेयक पारित गराइयो । यसमा हाम्रो आपत्ति छ ।’ विधेयकमा भएका कमजोरीलाई राष्ट्रिय सभाबाट सच्चाएर एसोसिएशनले उठाएका जायज मागहरु सम्बोधन गर्न उनले जोडदार माग गरे ।

उनले जुन असहमतिका विषय कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा पठाइने भनिए पनि उक्त समितिले समेत आफुहरुले उठाएका न्युनतम जायज मागहरुलाई वेवास्ता गरेको गुनासो पोखे । गत साउन २२ मा प्रतिनिधि सभामा उक्त विधेयक पेश भएको थियो ।

उनले पशु स्वास्थ्य पशुसँगमात्र नभई मानिससँग पनि जोडिएको बताए । मासिसँग पनि जोडिएको उल्लेख गर्दै यसले विभिन्न प्रकोप, रोगब्याधी ल्याउन सक्ने उनको भनाई थियो । काफ्लेले राष्ट्रिय सभाका सदस्यहरुले आफुहरुको माग राम्रोसँग मनन गर्नेमा विश्वस्त रहेको सुनाए । माग सम्बोधन नभए पशु चिकित्सकले गर्दै गरेका कामहरुमा क्रमबद्धरुपमा असहयोग गर्न वाध्य हुनेसमेत उनले चेतावनी दिए ।

कार्यक्रममा नेपाल भेटेनरी एसोसियशनका पुर्व उपाध्यक्ष श्रीराम अधिकारी, नेपाल भेटेनरी काउन्सिलका पुर्व अध्यक्ष डा.सीताराम अर्याल, स्वयमप्रकाश श्रेष्ठ, डा.वंशी शर्मा, रामकृष्ण खतिवडालगायतले आफ्नो भनाई राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्