Logo

के आरजुले कैलालीबाट चुनाव जित्न सक्लिन्



काठमाडौं, २ भाद्र । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् डा. आरजु देउवा । उनको परिचय देशको पाँचपटक प्रधानमन्त्री भइसकेका प्रधानमन्त्री शेरबहादुर देउवाको पत्नीको रुपमा पनि रहेको छ ।

आरजु काँग्रेसको राजनीतिमा हर्ताकर्ता नै छिन् । देउवालाई सफल बनाउन निकै खटिएकी छिन् । उनी यसपटक पनि प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने चर्चा छ । आरजुले कैलाली क्षेत्र नं ५ लाई चुनावी क्षेत्र बनाएकी छिन् ।

२०७४ को चुनावमा आरजु नेकपा एमालेका नारद मुनि रानासँग झण्डै ७ हजार मतान्तरले पराजित भएकी थिइन् । एमालेले माओवादीसँग चुनावी तालमेल गर्दा त्यस्तो परिणाम आएको हो ।

यसपटक काँग्रेस र माओवादीसहितको पाँच दलीय गठबन्धन तालमेल गरी चुनाव लड्दैछन् । यसलाई दृष्टिगत गर्दा पाँच वर्ष अघिको चुनावी परिणाम अनुसार आरजु चुनाव जित्ने सम्भावना बलियो हुनसक्छ ।

कैलाली क्षेत्र नं ५ थारु बाहुल्य क्षेत्र हो । २०७४ मा नारद मुनि राना जित्नुमा थारु मतदाता आकर्षित गर्न सक्नु पनि मुख्य कारण थियो । राजपा नेपालका लक्ष्मण चौधरीले ६ हजार ७ सय ४७ मत ल्याएका थिए ।

यसपटक कैलालीको थारु बाहुल्य क्षेत्रमा रेशम चौधरीकी पत्नी रञ्जिता चौधरी श्रेष्ठ नेतृत्वको दल नागरिक उन्मुक्ति पार्टी बलियो देखिएको छ । उक्त दलले स्थानीय तहको चुनावमा कैलालीमा ४ पालिका जितेको छ । यसकारण उक्त पार्टी कैलालीका कतिपय क्षेत्रमा निर्णायक शक्ति बन्न सक्छ ।

कैलाली ५ बाट रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चुनाव लड्ने चर्चा चलिसकेको छ । त्यस्तो अवस्थामा आरजु र रञ्जिताबीच चुनावी प्रतिष्पर्धा हुनसक्छ ।

चुनावमा आफ्नो प्रतिद्वन्द्वी उम्मेदवारलाई दृष्टिगत गरी आरजुले चुनावी क्षेत्र रोज्ने चर्चा पनि छ । उनी प्रत्यक्ष चुनाव नलडी समानुपातिकमा जाने सम्भावना नभएको होइन । तर, यसपटक उनी प्रत्यक्ष चुनाव नै लडेर अझ शक्तिशाली बन्ने रणनीतिमा देखिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्