Logo

पश्चिम सेती र सेती नदी–६ः सम्भाव्यता अध्ययन गर्न एनएचपीसीसँग समझदारी



काठमाडौं, भदौ ३ । चर्चित पश्चिम सेती र अर्को सेती नदी–६ जलविद्युत् परियोजनाको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग समझदारी भएको छ ।

समझदारीपत्र (एमओयू) मा बिहीवार लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका छन् । एमओयूमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित रहेका थिए ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि उपस्थित थिए ।

एमओयूअनुसार प्रस्तावक एनएचपीसीले पश्चिम सेती जलविद्युत् परियोजना सर्वेक्षण अनुमतिपत्रका लागि अबको ४५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेती नदी–६ परियोजनाका लागि ६ महीनाभित्र आवेदन गर्नुपर्नेछ ।

सर्वेक्षण अनुमति पाएको २ वर्षभित्र विस्तृत परियोजना अध्ययन सम्पन्न गरी लगानी बोर्डमा प्रतिवेदन पेश गर्नुपर्नेछ । विस्तृत परियोजना अध्ययनमा विभिन्न पक्ष समेट्नुपर्ने शर्त छ । त्यसपछि परियोजना विकास सम्झौता (पीडीए) का निम्ति दुई पक्षबीच वार्ता हुने र लगानी बोर्डको कार्यालयले सहजीकरण गर्ने बताइएको छ ।

उक्त अवसरमा दुवै परियोजनासम्बन्धी श्वेतपत्र पनि जारी भएको छ । श्वेतपत्रमा दुवै परियोजनाको पृष्ठभूमि, विद्यमान विद्युत् उत्पादन, प्रसारण तथा विद्युत् बजारको उपलब्धता यी परियोजना विकासका लागि विगतमा भएका प्रयास र त्यसको अनुभव, परियोजना विकासका मोडल, परियोजना विकासका सम्बन्धमा पछिल्लो विकासक्रम र समझदारीपत्रका प्रमुख विशेषता समेटिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले परियोजनालाई समयमै अघि बढाउन एनएचपीसीलाई आग्रह गरेका छन्। यी परियोजनाको सुदूरपश्चिमसहित समग्र मुलुकले लाभ लिन सक्ने र त्यसका लागि निर्माणमा सघाउनुपर्ने उनको भनाई छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot