Logo

पदाधिकारी चयनमा सहमति जुट्न नसक्दा तनावमा प्रचण्ड



काठमाडौं, भदौ ३। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन सम्पन्न भएको साता महिना बितिसक्दासमेत पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहितको सांगठनिक कार्य टुंगो लगाउन सकेको छैन ।

लामो समयको गृहकार्यपश्चात् बिहीबार पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँटलगायत संरचना टुंगो लगाउने भनिए पनि आकांक्षीको अडानका कारण बैठक नै स्थगित हुन पुग्यो ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट बिहीबारको बैठकमा पदाधिकारीलगायत विषयमा नामावली पेस गर्ने सहमति बुधबारको बैठकमा भएको थियो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबारदेखि जारी स्थायी कमिटी बैठकले बिहीबार पदाधिकारीसहितको नामावली पेस गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई नै दिएको थियो ।

तर, बिहीबार बिहान ८ बजे बस्ने भनिएको सचिवालय बैठक बेलुका ४ बजे बस्ने सूचना जारी भयो । तयारी नपुगेकै कारण साँझसमेत बैठक बस्न नसकेर आज शुक्रबार बिहान बस्ने अर्को सूचना प्रचण्ड सचिवालयबाट जारी भयो ।

माओवादी केन्द्र स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले आज शुक्रबार बिहान सचिवालय बैठक बस्ने बताए । यसअघि, उनले बिहीबारको बैठकबाट पदाधिकारी टुंगो लगाने बताएका थिए । तर, प्रतिनिधिसभा बैठकका कारण बिहीबारको बैठक स्थगित भएको बताउ“दै उनले ‘पहिलेकै एजेन्डामा छलफल हुनेगरी आज शुक्रबार बैठक बस्ने’ जानकारी दिए ।

नेताका आ–आफ्नै अडान

११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न ग¥यो । यसबीच बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको थियो । साथै, केही केन्द्रीय सदस्यसमेत यसैबीच मनोनित भए ।
पार्टी विधानमा भएको व्यवस्थाअनुसार पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो चयन केन्द्रीय समितिले गर्ने छ । तर, केन्द्रीय समिति बैठकबाट नभई अध्यक्ष प्रचण्ड अपूर्ण स्थायी समिति बैठकबाटै यी सांगठनिक काम पूरा गर्ने प्रयासमा छन् ।

माओवादी केन्द्र्रका एक स्थायी समिति सदस्यका अनुसार लामो समयदेखि अध्यक्षले पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो टुंगो लगाउने प्रयास गरेका छन् । तर, विभिन्न पदका आकांक्षी नेताका अडानका कारण टुंगो लगाउन प्रचण्डलाई सकस परेको छ । सहमति जुट्न नसके अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नै टुंगो लगाउने निष्कर्षमा प्रचण्ड पुगेका छन् ।

पार्टी अध्यक्षपछि दोस्रो कार्यकारी र पछि पार्टी अध्यक्ष हुने मुख्य पद महासचिव हो । महासचिवमै विवाद भएका कारण प्रचण्डले अहिलेसम्ममा पदाधिकारी टुंगो लगाउन नसकेका हुन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्