Logo

सिन्धुपाल्चोक-१ कांग्रेसले छाड्न नहुने भन्दै बलदेब तिमल्सिनाद्धारा नेतृत्वलाई ध्यानाकर्षण



काठमाडौं, ३ भदौ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेब तिमल्सिनाले आगामी निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं.१ मा नेपाली कांग्रेसले पाउनुपर्ने भन्दै शीर्ष नेतृत्वलाई ध्यानाकर्षण गराएका छन् ।

एक विज्ञप्ती जारी गर्दै महामन्त्री तिमल्सिनाले गत स्थानीय तहको चुनावको सर्वाधिक मत कांग्रेसले प्राप्त गरेको भन्दै उक्त क्षेत्र कांग्रेसले पाउनुपर्ने दाबी गरेका हुन् ।

सिन्धुपाल्चोक क्षेत्र नं.१ का स्थानीयसमेत रहेका तिमल्सिनाले लेखेका छन्,‘सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं.१ मा स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार वडाध्यक्षले पाएको मतमा नेपाली कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एसको १६५० मत छ ।’

उक्त क्षेत्रमा नेपाली काङ्ग्रेसले छोड्नुपर्ने र माओवादी केन्द्रले पाउनुपर्ने भन्ने आधार कसैगरी पनि न्यायोचित नदेखिने उनको भनाई थियो ।
उनले लेखेका छन्,‘गत स्थानीय तहको मतको तथ्यांक, पार्टीको सांगठनिक अबस्था, स्थानीय तहमा पार्टीको उपस्थिति र जनभावनाले पनि नेपाली काङ्ग्रेसले नै उम्मेदवारी दिनुपर्ने र निर्बाचित हुने पुष्टि भैसकेको छ ।’

उनले माओवादीले गत २०७४ को आमनिर्वाचनमा जितेको भन्ने तर्क दावी गर्नुको कुनै तुक नभएको पनि उनले टिप्पणी गरेका छन् । गत आम निर्वाचनमा माओवादी मात्र नभई नेकपा एमालेसँग गठबन्धन गरेर विजयी भएको उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्