Logo

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुँदै



काठमाडौँ,३ भदौ । एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि शुक्लाफाँटा नगरपालिका–११ स्थित श्रीकृष्ण सामुदायिक वनको पाँच हेक्टर जमिनमा रहेका रुख छपान र कटान गरिने भएको छ । एशियाली विकास बैंकको रु २६ करोड ७७ लाख सहुलियत ऋण सहयोगमा उक्त केन्द्र निर्माण हुन लागेको हो । सवडिभिजन वन कार्यालयका प्रमुख दुर्गेश धामीका अनुसार उक्त केन्द्रका लागि सिन्दुरे(रुइना) प्रजातिका आठसय २५ वटा रुख कटानका लागि स्वीकृति प्राप्त भएको छ ।

“केही दिनभित्रै रुख छपानको कार्य अगाडि बढाउने तयारी गरेका छौँ”, उनले भने, “सरोकारवाला पक्षसँग छलफल गरी छपान गरिने र कटान आदेश जारी भएपछि कटानको कार्य सुरु हुन्छ ।” वर्षात्को मौसम भएकाले कार्य अगाडि बढाउनमा विलम्ब भइरहेको उनको भनाइ थियो । वन तथा वातावरण मन्त्रालयले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि श्रीकृष्ण सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार(प्रयोग) का लागि स्वीकृति प्रदान गरिसकेको छ ।

सामुदायिक वनको पाँच हेक्टर जमिनमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका इञ्जिनीयर अमित यादवले बताए । उनका अनुसार उक्त केन्द्र निर्माणका लागि गत वैशाख २३ गते उक्त आयोजना र रमण केएसजेभी कैलालीबीच ठेक्का सम्झौता भएको थियो ।“बीस महिनाभित्र फोहरमैला व्यवस्थापन केन्द्र निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता भएको छ”, इञ्जिनीयर यादवले भन्नुभयो, “निर्धारित समयभित्रै केन्द्र निर्माण हुन्छ । केन्द्रसम्म पुग्ने अढाइ किलोमिटर सडकसमेत निर्माण हुन्छ।”

नगर प्रमुख रणबहादुर महराले विगत लामो समयदेखि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यले निकै चर्चा पाए पनि निर्माण हुन नसकेको बताए । “ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ”, उनले भने, “वतावरणमा असर नपर्ने गरी केन्द्र निर्माण हुन्छ ।” रासस



प्रतिक्रिया दिनुहोस्