Logo

के झलनाथ खनालले इलाम १ बाट फेरि चुनाव जित्लान्, यस्तो छ अंकगणित



काठमाडौं, ३ भाद्र । नेकपा एमालेका अध्यक्ष भइसकेका झलनाथ खनालसँग लामो कम्युनिस्ट राजनीतिको अनुभव छ । पञ्चायतकालमा एमाले नबनिसक्दै खनाल तत्कालीन नेकपा मालेको महासचिव भइसकेका थिए ।

२०४६ सालको जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा उनी कम्युनिस्ट पार्टीका तर्फबाट मन्त्री समेत बने । एमालेको नौं महिने सरकारमा पनि उनी मन्त्री बने । पहिलो संविधानसभाको कार्यकालमा प्रधानमन्त्री समेत बने ।

खनालसँग लामो राजनीतिक अनुभव छ । उमेर ७२ टेकेका उनी पछिल्लो समय स्वास्थ्य समस्यासँग जुधे । मृगौला प्रत्यारोपणपछि सक्रिय भए ।
खनालको चुनावी क्षेत्र इलाम १ हो । त्यहाँबाट पटक पटक चुनाव जितिसकेका छन् । यसपटक पनि उनी इलाम १ बाट नै प्रतिष्पर्धा गर्ने चर्चा छ । तर, उनी एमालेमा छैनन् । नेकपा एसका सम्मानित नेता छन् ।

इलाम १ बाट सत्ता गठबन्धनबाट झलनाथ खनाल उम्मेदवार बन्दा सजिलो भने छैन । एमालेबाट चुनाव लड्दा खनालले ३६ हजार ८०५ मत ल्याएर जितेका थिए । त्यतिबेला काँग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६३८ मत प्राप्त गरेका थिए । गठबन्धनबाट चुनाव लडेमा खनालले विगतमा काँग्रेसलाई गएको मत समेत तान्न सक्नुपर्छ ।

२०७९ को स्थानीय चुनावमा इलाममा एमाले बलियो देखियो । इलाम क्षेत्र नं १ मा पर्ने चुलाचुली नगररपालिकामा काँग्रेसले जितेको छ । उक्त क्षेत्रमा पर्ने इलाम नगरपालिकाको वडा नं ११ र १२ मा पनि काँग्रेसको मत राम्रो छ । ११ मा काँग्रेस र १२ मा नेकपा एसले वडाध्यक्ष जितेको थियो ।

फाकफोकथुम गाउँपालिकामा पनि एमालेले जितेको छ । त्यहाँ काँग्रेसको मत पनि केही सयले मात्र एमालेको भन्दा पछाडि छ । माङसेबुङ गाउँपालिकामा पनि एमालेले नै जितेको छ ।

देउमाईका १ देखि ५ वडा पनि इलाम १ मै पर्छन् । तीमध्ये वडा नं ३ मा मात्र काँग्रेसले जित्यो र बाँकीमा एमालेले जितेको छ । माई नगरपालिकाको ६ देखि ८ सम्मका वडा इलाम १ मा पर्छन् । त्यसमध्ये स्थानीय निकायमा ६ मा मात्र काँग्रेसले जित्यो भने बाँकीमा एमालेले जित्यो ।

स्थानीय चुनावको अंकगणित हेर्दा इलाम १ मा एमाले बलियो छ । तर, गठबन्धनका काँग्रेस र नेकपा एस एक भएमा चुनावको माहोल बदलिनसक्छ । अर्कोतर्फ, प्रधानमन्त्री भइसकेका खनाललाई इलामे जनताले अस्वीकार गरिहाल्ने अनुमान कठिन हुन्छ ।

खनाललाई चुनाव जित्न एमालेको पक्षमा गएका मत तान्नुपर्ने चुनौती हुनसक्छ । उनीविरुद्ध एमालेले कस्लाई उम्मेदवार बनाउँछ र गठबन्धनको मत एकढिक्का हुन्छ या हुँदैन भन्नेले पनि चुनावी परिणाममा असर पार्न सक्छ । तर, ७० कटेका खनालले युवा उम्मेदवार मुख्य दलबाट उत्रिएमा चुनौती बढ्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्