Logo

निर्वाचनका लागि गठबन्धनको साझा धारणा बनाउने जिम्मा कार्यदललाई



काठमाडौं, ३ भदौ । सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वले आउँदो निर्वाचनका लागि साझा धारणा बनाउन सिट बाँडफाँट गर्न गठित कार्यदललाई नै जिम्मा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनका शीर्ष नेतृत्वसँग भएको छलफलमा कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको र आगामी मङ्सिर ४ मा हुने आम चुनावमा गठबन्धन गरेर जानुको औचित्य के हो भनेर साझा धारणा बनाउनका लागि शीर्ष नेतृत्वले कार्यदललाई नै जिम्मेवारी दिएको कार्यदलका सचिव केशवराज जोशीले जानकारी दिए ।

गठबन्धन दलले आगामी निर्वाचनका सन्दर्भमा सिट बाँडफाँटका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही क्रममा कार्यदलले अहिलेसम्म गरेका कार्यप्रगतिका बारेमा जानकारी गराएको थियो ।

छलफलमा शिर्ष नेताहरुले अहिलेसम्मको प्रगति तथा सिट बाँडफाँटका विषयलाई अन्तिम रुप दिन समेत निर्देशन दिएको बताइएको छ । कार्यदलमा कांग्रेसबाट नेता सिटौला, सञ्चारमन्त्रीसमेत रहनुभएका नेता ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र) बाट नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस्