Logo

पुच्छरले पार्टीको प्रतिनिधित्व गर्न सक्दैन, राम्रा मान्छेलाई टिकट नदिए जनताले पत्याउँदैनन्ः डा. चन्द्र भण्डारी



काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सिट बाँडफाँ एकदुई बसाइमा मिल्न नसक्ने बताएका छन् ।
“लोकतन्त्रवादी र कम्युनिस्ट पार्टीका नेताहरु पहिलेका प्रतिस्पर्धी हुन् । अहिले एकैचोटि एकदुई बसाइमा मिलाउन गाह्रो हुन्छ । तर तालमेल आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिले तालमेल केका लागि भन्ने निष्कर्ष निकाल्नुपर्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. भण्डारीले भने ।
सिट बाँडफाँटमा स्थानीय तहको चुनावलाई नै आधार मान्नुपर्ने उनको जिकिर छ । डा. भण्डारीले भने, “नजित्ने ठाउँमा क्लेम गर्दा राम्रो परिणाम आउँदैन । टिकट भनेको जसले जहाँ जित्न सक्छ, उसलाई दिने हो । दलहरुले गत स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै अघि बढ्नु राम्रो हुन्छ । कांग्रेसले जिते मात्र मुलुकले निकास पाउँछ । मुलुक समृद्धिको दिशातिर जान्छ ।”
पार्टी सभापतिको पुच्छर बन्नेहरुले टिकट पाए पनि जित्न नसक्ने उनले ठोकुवा गरे । डा. भण्डारीले भने, “मेरो हकमा म टिकट लिन वा नलिन सक्छु । तर हामीले हामीले पुच्छर होइन, टाउको खोजेको हो । पार्टीको प्रतिनिधित्व पुच्छरले गर्ने होइन । टाउकोको नेतृत्व शेरबहादुरजीले गर्नुपर्छ । केही स्वार्थी झुण्ड सधैं सत्ताको वरिपरि हुन्छ र अरुको अपमान गर्छ । जित्ने मानिसलाई नै उठाउनुपर्छ । राम्रा मान्छेलाई टिकट दिइएन भने जनताले भोट हाल्दैनन् ।”
उनले मधेस प्रदेशमा सभापति देउवाका मानिसहरुको जमानत जफत भएको दृष्टान्त पनि दिए । उनले भने, “सही उम्मेदवारी दिन नसक्दा स्वतन्त्र मानिसहरु आए । मधेस प्रदेशमा शेरबहादुरजीमा मानिसहरुले टिकट पाए तर जमानत जफत भयो ।”
पार्टीमा चित्त नबुझ्दा विद्रोही उम्मेदवार उठाउने हो त भन्ने पत्रकार धमलाको प्रश्नमा डा. भण्डारीले भने, “शेरबहादुरजीको निर्णयमा चित्त नबुझाएर विद्रोही उम्मेदवार उठाउने सोच कांग्रेसमा कसैको पनि छैन । त्यस्तो नचाहिने काम हामी किन गर्छौं र ? पार्टी दुई वर्षपछि हाम्रै हातमा आउँछ । त्यसैले हामीले परिपक्व, स्पष्ट र उदार दृष्टिकोण राख्नु आवश्यक छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot