Logo

शान्ति प्रक्रियाप्रति चासो राख्दै संयुक्त राष्ट्रसंघका अधिकारी तथा विभिन्न देशका राजदूत प्रचण्ड निवासमा



भाद्र ४, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका अधिकारी तथा विभिन्न देशका राजदूतबीच भेटघाट भएको छ । अध्यक्ष दाहाललाई भेट्न नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचार्ड हवार्ड, अमेरिका, वेलायत, अस्ट्रेलिया, जर्मन, स्विस तथा युरोपेली युनियनका राजदुतहरु उनकै निवास पुगेका थिए ।

भेटका क्रममा उनीहरुले दाहालसँग नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुशी व्यक्त गरेको दाहालको सचिवालयले जानकारी दिएको छ । त्यसैगरी आगामी दिनमा सकारात्मक सहयोग र सद्भाव रहने आश्वासन पनि उनीहरुले दिएका छन् ।

उनीहरुले नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेर मौलिकता प्रस्तुत गरेको टिप्पणी गरेका छन् । भेटको क्रममा उहाहरुले गम्भीर मानव अधिकार उलंघनको घटना र पीडितहरुको पुनरावेदनको अधिकारकाबारे चासो राखेका थिए ।

भेटका क्रममा अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गरेका थिए । दाहालले शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा सामुहिक सुभेच्छा र चासो देखाएकोमा धन्यवाद दिएका छन् ।

साथै दाहालले विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संबेदनसिलताप्रती राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्