Logo

रसुवामा ट्राफिक कारबाही तीव्र



काठमाडौँ,५ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक अनुमतिपत्र सहित आवश्यक कागजात साथमा नराखी सवारीसाधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ ।

कार्यालयका प्रमुख उज्ज्वलकुमार घलेका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा साना–ठूला सावारी साधानका गरी दुई सय ५० चालक कारबाहीमा परेका हुन् । कारबाही पर्नेमा मोटरसाइकल ७५, जिप–कार ५० र ठूला सवारी एक सय २५ छन् । कारबाही गरिएकाबाट रु दुई लाख ४१ हजार पाँच सय जरिवाना गरिएको उनले बताए ।

नेपाल–चीनबीचको व्यापार–व्यवसाय गर्ने रसुवागढी नाका भएका कारण यस क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएको हो । सवारीसाधनमा आवश्यक कागजपत्र नबोक्न पटक–पटक सचेत गराउँदासमेत चालकले आलटाल गरेका कारण कारबाहीस्वरूप जरिवाना गर्नुपरेको कार्यालयले जनाएको छ ।

विगतको तुलनामा ट्राफिक नियम पालनामा केही सुधार आए पनि पछिल्लो समय नयाँ–नयाँ थपिने चालकबाट बढी मात्रामा हेलचक्र्याइ हुने गरेको पाइएको जनाएको छ । उनले भने “जुन स्थानमा जाँच हुन्छ, सोही स्थानमा ट्राफिक नियमका बारेमा चालकलाई जानकारी पनि दिँदै आएका छौँ । ” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot