Logo

लगातार तेस्रो जीतसँगै आर्सनल शीर्ष स्थानमा



एजेन्सी । नर्वेली युवा मिडफिल्डर मार्टिन ओडेगार्डले दुई गोल गरेपछि आर्सनलले इङ्लिस प्रिमियर लिगमा लगातार तेस्रो जीत निकालेको छ । गएराति भएको खेलमा एएफसी बर्नामाउथलाई ३-० गोलले पराजित गर्दै आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

भिटालिटी रंगशालामा भएको खेलमा आर्सनलको लागि ओडेगार्डले दुई गोल गर्दा विलियम सालिबाले एक गोल थपे । खेलको पाँचौ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए । ११ औं मिनेटमा जेससको पासमा ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

५४ औं मिनेटमा जाकाको पास सालिबाले गोल गर्दा आर्सनलले खेलमा ३-० गोलको अग्रता लिएको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनल ३-० गोलले विजयी भयो ।

जीतसँगै आर्सनल ३ खेलबाट ९ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट ३ अंक जोडेको बर्नामाउथ १४ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot