Logo

नवप्रवेशीहरुलाई ओलीको निर्देशन-अब एमाले भएपछि एमालेकै शैलीमा तुफानजस्तो दौडिनुहोस



काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई एक ताका मधेशविरोधी पार्टी भनेर हल्ला चलाईएको बताएका छन् । उनले भने,‘मान्छेहरुले के देखिदेखि पनि हल्ला चलाए भने, हामीले त नाकाबन्दीको सामना गरेका थियौं । हामीले हुलाकी राजमार्ग घोषणा गरेका थियौं, अहिले लगभग तयार भएको छ । हिजा ठोरी भनेको त मधेशको कर्णाली जस्तो थियो । अहिले ठोरी भनेपछि विश्वले जिन्दछ । धेरै चिनजान भैसकेको छ । नाम पनि सुनेको छ । हुलाकाी राजमार्ग बनेको छ। अरु प्रकारका विकासका काम आएका छन् ।’

आज (मंगलबार) आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नागरिकताको समस्या सही ढंगले समाधान गर्ने दल एमालेबाहेक अर्को दल नभएको पनि स्पष्ट पारे । उनले भने,‘अरुले त मधेशमा राजनीति मात्रै गर्छन् । मधेशको विकास र मधेशी जनताको शिक्षा र स्वास्थ्य यी सबै कुरामा हामीले पहल गरेका छौं ।’ उनले नवप्रवेशीहरुलाई पार्टीको स्पिरिटअनुसार काम गर्न निर्देशन दिएका छन् ।

उनले आफूहरुले सामाजिक जागरण ल्याउनुपर्नेमा जोड दिए । उनले महिला अगाडि बढेनन भने त्यो समाज अघि नबढ्ने टिप्पणी गरे । उनले अब युवाहरुलाई विदेश पठाउन नहुने र स्वदेशमै उद्यम स्थापना गर्न प्रेरित गर्नुपर्ने बताए । उनले दम्भ देखाए र घमण्ड गरे त्यसले राम्रो नगर्नेतर्फ कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले नेताहरुलाई काम गरेर देखाउन आग्रह गरेका छन् । उनले आफू अहिलेपनि दैनिक १८ घण्टा काम गर्ने गरेको स्मरण गराए । उनले नवप्रवेशीहरुलाई एमाले शैलीमा तुफानजस्तो दौडिन पनि सुझाव दिएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्