Logo

रिपोर्टर्स क्लब र नेपाली रेडियो नेटवर्कद्धारा वानका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान



काठमाडौं, भदौ ८ । रिपोर्टर्स क्लब नेपालले ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) को नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएको छ । गत शनिबार र आइतबार भएको अधिवेसनबाट सर्वसम्मत चयन भएका अध्यक्ष कुमार भट्टराईसहित सम्पुर्ण पदाधिकारीहरुलाई रिपोर्टर्स क्लब नेपाल र नेपाली रेडियो नेटवर्कले आज (बुधबार) संयुक्त रुपमा बधाई दिएको हो ।

कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका सभापति तथा प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले रेडियोमा वानको निकै ठुलो भूमिका भएको बताएका हुन् । बानले मिसन र भिजन दुवै पत्रकारिता गर्दै आएको उनको भनाई थियो । वानको अध्यक्षसहित सम्पुर्ण पदाधिकारीहरुलाई बधाई दिँदै उनले आगामी कार्याकालको लागि शुभकामना व्यक्त गरे ।

नेपाली रेडियो नेटवर्क वानकै सहयोगले देशैभरी गुञ्जिरहेको भन्दै उनले आगामी निर्वाचनका लागि नयाँ कार्यसमितिको कार्यकाल कोशेढुंगाा बन्ने टिप्पणी गरे । उनले भने,‘आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुँदैछ, यो एउटा राष्ट्रिय उत्सव पनि हो । वानले महत्वपुर्ण भुमिका खेल्नेमा हामी आशावादी छौंै ।’ अध्यक्ष धमलाले रेडियो नै सबैभन्दा बढी जनताको संकटको माध्यम बताए । उनले भने,‘रेडियो आज नेपाली जनतालाई नभई नहुने माध्यम भएको छ ।’

नवनिर्वाचित अध्यक्ष ई.कुमार भट्टराईले आफ्नो नेतृत्वमा गठन भएको नयाँ कार्यसमिति निकै बलियो भएको र कार्यकाल सोचेभन्दा सफल हुने स्पष्ट पारेका छन् । २०० बढी रेडियोहरु वानमा आवद्ध रहेको उल्लेख गर्दै उनले रेडियोको विकासमा धेरै चुनौती भएको बताए । उनले भने,‘रेडियोमा भएका चुनौतीका बाबजुद जसरी पनि अघि बढ्ने अठोट गरेका छौं ।’

पछिल्लो समय भिडियो र अडियो सन्देशले बेतिथि निम्त्याएको भन्दै उनले त्यसलाई व्यवस्थित गर्ने काम पनि रेडियोले गर्ने बताए । डिजिटल प्लेटफर्मले नराम्रो पाटोपनि सिर्जना गरिसकेको उनको भनाई थियो । उनले भने,‘समाजलाई मर्यादित हुने, मिडिया नीति नै बढी संवेदनशील हुनेखालको बनाउनुपर्ने आजको आवश्कता हो । त्यो काम हाम्रो टिमले पुरा गर्नेछ ।’

त्यस्तै, कार्यक्रममा वानका नवनिर्वाचित महासचिव नविनबाबु राईले रिपोर्टर्स क्लब नेपाल र सभापति धमलालाई धन्यवाद दिएका थिए । रेडियोको जति हुनुपर्ने विकास नभएको उल्लेख गर्दै उनले रेडियोको उजागर गर्ने कार्यमा आफुहरुसँग हातेमालो गर्न नेपाली रेडियो नेटवर्क र रिपोर्टर्स क्लब नेपाललाई आग्रह गरे । उनले भने,‘रेडियो अझैपनि सफल रुपमा बाँच्न नसकेको अवस्था छ, यसमा प्रश्नवाचक चिन्ह छ । यसको पुर्ण खोजीमा रेडियो एनआरएन र रिपोर्टर्स क्लब नेपालले पनि हातेमालो गर्न हामीलाई साथ दिनुहोस् ।’

यसैगरी, वानका वरिष्ठ उपाध्यक्ष उज्जल चौलागाँईले आफ्नो कार्यकालमा जिम्मेवारी राम्रोसँग पुरा गर्ने वाचा गरे । रेडियो र ऋषि धमला पर्यायवाचीजस्तै भएको टिप्पणी गर्दै उनले भने,‘न त रेडियो सकिन्छ, न त ऋषि धमला दाईको कुरा काट्ने सकिन्छन्, जति कुरा काटेपनि सबैले उहाँकै कार्यक्रम सुन्न प्रतिक्षा गरिरहेका हुन्छन् । त्यस्तै हो रेडियो पनि ।’

रेडियो र धमलाको सम्बन्ध पर्यावाची शब्दजस्तै रहेको उनको भनाई थियो । नेपाली जनतामा डिजिटल युगमा पनि धेरै समाचारको सुचना सुन्न रेडियो नै खोल्ने गरिएको उनको दाबी छ । उनले भने,‘अहिले पनि मौसमको सुचना सुन्न रेडियो नै सुन्ने गर्छन् ।’ आजको दिनमा पनि विश्वकै विकसित देशमा पनि रेडियोको अवसान नभएको उनले बताए ।

नेपाली रेडियो नेटवर्कका प्रवन्ध निर्देशकसमेत रहेका वानका नवनिर्वाचित केन्द्रीय सदस्य अमृत अधिकारीले वानले उठाउँदै आएको सम्पुर्ण एजेण्डामा नेपाली रेडियो नेटवर्क, प्राइम टेलिभिजन र रिपोर्टर्स क्लब नेपालले सधैं साथ दिँदै आएको बताए । उनले आगामी दिनमा पनि यसखालको सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता जाहेर गरे ।

भक्तपुरको जर्मन होम्समा सम्पन्न अधिवेशनबाट अध्यक्षमा कुमार भट्टराईसहित सम्पुर्ण पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । बानको बरिष्ठ उपाध्यक्षमा उज्ज्वल चौलागाई, उपाध्यक्षमा दुर्गा अधिकारी, गोविन्दराज रोस्वारा, राजकुमार थापा, महासचिवमा नविनवावु राई, उप महासचिवमा नवराज खनाल, सचिवमा किरण पाण्डे, महिला सचिवमा रेवती पराजुली, कोषाध्यक्षमा हरि जोशी र सहकोषाध्यक्षमा विपिन ढुङ्गाना निर्वाचित भएका हुन् ।

कुल ३७ सदस्यीय कार्यसमितिमा हरेक प्रदेशबाट एक÷एक जना र बाँकी खुल्ला सदस्य निर्वाचित भएका हुन् । निर्वाचितमध्ये उपाध्यक्ष थापा, महासचिव राई, कोषाध्यक्ष जोशी, सह–कोषाध्यक्ष ढुङ्गाना, सदस्यहरु चक्र कुँवर, बद्री अधिकारी, मधेश प्रदेश संयोजक आशिक अनसारी, बागमती प्रदेश संयोजक गंगा पौडेल, लुम्बिनी प्रदेश संयोजक युवराज बस्याल र लेखा समिति सदस्य सुजन सुवेदी नेपाली रेडियो नेटवर्कमा आवद्ध रेडियोका प्रतिनिधि हुन् ।

club1stprogramphoto



प्रतिक्रिया दिनुहोस्

Screenshot