Logo

महाकालीमा बन्नेभयो पक्की पुल



दार्चुला, भदौ ९ । दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण हुने भएको छ । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छार्चुम जोड्ने गरेर महाकाली नदीमाथि पुल बनाउन लागिएको हो।

मोटरेबल पुल निर्माणको शिलान्यास गर्नका लागि तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। दार्चुलामा महाकाली नदीमाथि भारतसँग जोड्ने सातवटा झोलुङ्गे पुल सञ्चालनमा रहेका छन्।

दुईवटा पुल निर्माणाधीन अवस्थामा रहेका छन् भने थप केही पुल निर्माणका लागि पहल भइरहेको छ। मोटरेबल पुल नहुँदा भने आवागमनमा समस्या कायमै रहेको छ। मोटरेबल पुल नभएको कारणले भारतसँगको सम्बन्धमा केही कमी अनुभव भइरहेको छ, प्रजिअ उपाध्यायले भने, “विशेषगरी दार्चुला जिल्ला अस्पतालबाट रेफर भएका बिरामीलाई पिथौरागढ लैजाने प्रवृत्ति देखिएको छ। मोटरेबल पुल भए सहज रूपमा त्यहाँ गएर उपचार गर्न सम्भव हुन्थ्यो।”

त्यसैगरी दुवै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउनसमेत पुल महत्वपूर्ण हुने उनको भनाइ छ।

मोटरेबल पुल अबको केही समयमै शिलान्यास हुने चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।

केही दिन पहिले मात्रै पुल निर्माणको टेन्डर कार्य सम्पन्न भएको छ। चन्डिगढको निर्माण कम्पनीले पुल निर्माणको ठेक्का प्राप्त गरेको छ। उनले भने, “योभन्दा पहिले पनि टेन्डर आह्वान भएकोमा आवश्यक योग्यता नपुगेको ठेकेदारले मात्रै विट गरेकोले ढिला भयो।”

अबको एकरडेढ महिनाभित्रै सम्झौता कार्य टुङ्ग्याएर पुल शिलान्यास गर्ने तयारी छ। भारतीय प्राविधिक टिमसँग पनि पुलको अवस्था र प्रगतिका बारेमा छलफल भएको उनको भनाई छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot