Logo

प्राप्तीको सपना नदेख्नेहरु यूवा हुन सक्दैनन् : डा. चन्द्र भण्डारी



काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपाललाई नयाँ नेतृत्वको आवश्यकत्ता रहेको बताएका छन् । उनले भने,“३० वर्ष अघि जुन उद्देश्यका निम्ति बहुदलीय व्यवस्था हामीले ल्याएका थियौं । दरबारले गाउँलाई देखेन । सिंहदरबारले पनि गाउँ देखेन, बहुदलीय व्यवस्थादेखि गणतन्त्र व्यवस्थासम्म हामीले ल्यायौं । तर, हामीलाई उठाउने प्रश्न धेरै छन् ।”

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,“हाम्रो एक्शन भएन । शब्दहरु मात्रै बढि भए । अहिले डोजरको बोलवाला छ । यो कुरालाई मनन गर्नुपर्छ । अब हाम्रो पार्टी, नेता मात्रै हेरेर जनतालाई सन्तुष्ट बनाउन सक्दैनौं । अहिले सबै जनताले संसारलाई तुलनात्मक रुपमा अध्ययन गरिरहेका छन् ।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले देशका १८ वर्षभन्दा माथिका युवाहरु विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठूलो चूनौति भएको उल्लेख गरे । उनले देशमा भ्रष्टाचार बढिरहेको र अरवौं अरवौंको सम्पत्ति एउटा ठेकेदारसँग, पोलिटिकल करप्सनसँग रहेको सुनाए ।

उनले भने,“भ्रष्टाचारीलाई अख्तियारले कारबाही गर्दैन् । राजनीतिमा डोजर लगाउनुपर्दैन ? भनेर जनताले प्रश्न गरेका छन् । मुलुकको व्यापार घाटा धेरै छ । कृषि, उद्योगलाई कसरी लैजाने भनेर हामीले सोचेका छैनौं । अरुसँग कसरी ऋण लिने भनेर आश्रित हुन्छ । युवाहरु टाउको बन्ने कि पुच्छर बन्ने भन्नेमा अलमलमा छन् । सबै पुच्छर बन्न तयार छन् । ३०औं वर्षसम्म एउटै अनुहार हेर्नुपरेको छ । कांग्रेसभित्र नेतृत्व्को खाँचो छ । प्राप्तिको सपना पूरा नगर्नेहरु युवा हुन सक्दैनन् । नेपाललाई नयाँ नेतृत्वको आवश्कत्ता छ । कम्युनिष्ट पार्टीभित्र यति धेरै द्धन्द्ध हुँदापनि कांग्रेसले गठबन्धन खोज्नुपरेको छ । गठबन्धन किन ? यो प्रश्न पनि छ । यसको पनि विश्लेषण गर्नुपर्ने छ ।”

नेता भण्डारीले सत्ताको स्वार्थको लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी गरे । उनले भने,“यसअघि केपी ओलीको नेतृत्वमा गठबन्धन भयो । त्यो गठबन्धन तीन वर्षसम्म पनि शान्तिसँग चलेन । त्यो गठबन्धन सत्ता र सिंहदरबारमा केन्द्रित थियो । कांग्रेसले स्थानीय तहमा गठबन्धन गर्यो । अब यो गठबन्धनपनि सिंहदरबारमा मात्रै केन्द्रित भयो भने, त्यो गठबन्धनको पनि हिजोको अवस्था जस्तै हुन्छ ।”

डा. भण्डारीले मुलुक गरिबी र प्लेयरको कारण फेरि हिंसामा जानसक्नेतर्फ पनि चिन्ता व्यक्त गरे । उनले अब मुलुक बनाउने मान्छे खोज्नुपर्ने बताए । उनले भने,“हामी मुलुक बनाउँछौं । गरिबी र व्यभिचारसँग लड्नको लागि सुख, सुविधाबाट लड्न सकिँदैन् ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot