Logo

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जिते मासिक भत्ता



काठमाडौं, भदौ १२ । वागमती प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले प्राथमिकतामा राखेका ९ खेलमा स्वर्ण जित्ने खेलाडीलाई मासिक ६ हजार रुपियाँ भत्ता दिने निर्णय गरिएको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्य भण्डारीले जानकारी दिए ।

उनका अनुसार अर्को राष्ट्रिय खेलकुद प्रतियोगिता नहुदासम्मका लागि उनीहरूलाई मासिक भत्ता दिइने भएको हो ।
प्रदेशले फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वान्दो, ब्याडमिन्टन र पौडी खेलमा पदक जित्ने खेलाडीलाई भत्ता दिने भएको हो । उनले उक्त सुनिश्चितता प्रदेश खेलकुद नियमावली, २०७६ को दफा १३ मा उल्लेख गरेर खेलाडीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको जानकारी दिए ।

यस वर्षबाट प्रदेश सरकारले प्राथमिकतामा परेका खेलहरुमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गत स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले मासिक ६ हजार रुपियाँ भत्ता दिने निर्णय गरिएको उनले बताए । ‘यो सुरुवातमात्र हो । खेल र खेलाडीको दायरा बढाउँदै लैजाने लक्ष्य छ,’ सदस्यसचिव भण्डारीले भने–अन्य प्रदेशले पनि यस कार्यक्रमलाई निरन्तरता दिने विश्वास लिएका छौं ।

उनले वागमती प्रदेशले भदौ २० गतेभित्र प्रदेश छनोट सक्ने गरेर तालिका र तयारी गरेको, राष्ट्रिय खेलकुद परिषद्को निर्णयअनुसार भदौ २५ गतेसम्म खेलाडी विवरण पठाइसक्ने तयारी गरिएको बताए । उनले प्रदेशअन्तर्गत खेलाडीको प्रदेश छनौट तथा नवौं राष्ट्रिय खेलकुदमा सहभागिताका लागि अनुमानित ९ करोड ४४ लाख ८ सय रुपियाँ खर्च अनुमान गरेको र सोका लागि प्रदेश सरकारले छनोटका लागि ५ करोड विनियोजन गरेको जानकारी दिए ।

प्रदेशले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत् ३६ वटै खेल विधामा वागमती सहभागिता जनाउने प्रतियोगितामा सहभागी खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राखिने र सोको व्यवस्थापन प्रदेश सरकारले गर्ने प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले जानकारी दिए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot