Logo

मन्त्रीद्वय राई र श्रेष्ठ मुड्खु–तिनपिप्ले सडक खण्ड निरीक्षणमा (तस्वीरसहित)



भदौ १२, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले काठमाण्डौ उपत्यकाको फोहोर विसर्जन गरिने सिसडोल क्षेत्रको अुनगमन गरेका छन् ।

आइतबार विहान दुई जना मन्त्रीले एकसाथ त्यस क्षेत्रका नागरिकको समस्या र बाटोको अवस्थाबारे जानकारी लिएका हुन् । उनीहरुले पासाङल्हामु सडकखण्डअन्तर्गतको मुड्खु–तिनपिप्ले सडक खण्डको निरीक्षण गर्दै अबको चार महिनाभित्र निर्माण सम्पन्न हुने आश्वासन दिएका छन् । स्थानीयले सडक कालोपत्रेको माग राख्दै बारम्बार सडक बन्द गर्दै आइरहेका थिए ।

अब फास्ट ट्रयाकबाट चार महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले दाबी गरेका छन् । सडकखण्डको अनुगमनपछि मन्त्री राईले चार महिनाभित्र काम सम्पन्न हुने बताएका हुन् ।

यसअघिको ठेकेदारले ८ वर्षदेखि सडक निर्माण अलपत्र पारेको उल्लेख गर्दै मन्त्री राईले भने–“राजनीतिक आवरणमा बहुचर्चित ठेकेदारले ८ वर्षदेखि बाटो निर्माण कार्य सम्पन्न नगरेको, नेताहरुको आवरणमा नेताहरुको पक्षपोषणमा देशभरीकै ठेकेदारहरु काम नगर्ने पैसा लिने, राजनीतिक दल र तिनका नेताहरु नै आरोपित हुने अवस्था थियो । हामीले ति कम्पनी र ठेकेदारसँग ठेक्का तोड्यौँ र तीन वर्षका लागि कालोसूचिमा राख्ने निर्णय पनि गर्यौँ । यहाँका मतदाता, यहाँका जनताको माग सम्बोधनका निम्ती ढाईदेखि तीन महिना लाग्ने ठेक्का प्रक्रियालाई छोट्याएर १८ दिनमा सकाउने हिसाबले क्याबिनेटबाट सहमति लिएर काम अघि बढाएका छौँ ।”

चार महिनामै सम्पन्न हुने गरी ठेक्का आह्वान गरेको चार दिन भएको छ । १२–१४ दिनमा सम्झौतासमेत भइ काम सुरुवात हुने मन्त्री राइले बताए । सबै प्रक्रिया पूरा गरेर चार महिनाभित्र सडक निर्माणलाई नै पूर्णता दिने सरकारको रणनीति छ ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले पनि धेरै अगाडीदेखि बिचल्लीमा परेको उक्त सडकखण्ड अब छिटै निर्माण हुने र नागरिकले पाइरहेको सास्तीको अन्त्य हुने बताए । ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने उनको भनाई छ ।

श्रेष्ठले भने–“यो बाटो चाँही धेरै अगाडीदेखि बिचल्लीमा परेको अवस्था थियो, न सार्वजनिक यातायात चल्छ । बाटोमा पहिरोहरु आएको आइ हुने । यसलाई बाटो विस्तार गरेर अगाडी बढाउने भनेर योजना बनायो । तर त्यो योजनालाई चाँही व्यवस्थित रुपमा विगतको सरकारले अगाडी बढाउन सकेन । ७–८ वर्षदेखि यो चाँही अव्यवस्थित रुपमा रहन गयो । त्यसकारण यसलाई फास्ट ट्रयाकबाट गर्नपर्छ भनेर हामीले चाँही सुरुदेखि नै भन्यौँ ।”

यसअघि शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त सडकमा काम नभएपछि आठ वर्षदेखि अलपत्र अवस्थामा छ । उक्त सडकको पुरानो ठेक्का सरकारले तोडिसकेको छ । मन्त्रालयले नयाँ ठेक्काका लागि केही दिनअघि सूचना प्रकाशन गरेको छ ।

अब ठेक्का पाउने ठेकेदार कम्पनीले चार महिनाभित्र सडक निर्माणको काम सक्नुपर्ने छ । ठेक्का प्रक्रिया लगाउनुअघि मन्त्री उक्त सडकको अवलोकन गर्न आइतबार त्यहाँ पुगेका हुन् ।

हेर्नुहोस् तस्वीरमा :

 



प्रतिक्रिया दिनुहोस्