Logo

नेपाली समाज टेक्सासको ’ग्लोवल नेपाली पाठशाला’मा भर्ना खुल्यो



काठमाडौं, १३ भदौ । अमेरिकाको टेक्सासमा रहेको नेपाली समाज टेक्सासको भाषा पाठशालामा नयाँ विद्यार्थी भर्ना खुल्ला भएको छ । नेपाली समाज टेक्सासद्वारा संचालित ’ग्लोवल नेपाली पाठशाला’मा नेपाली भाषाका बिभिन्न कक्षाहरु संचालनका लागि भर्ना खुला गरिएको हो ।

ग्लोबल नेपाली पाठशालाले अगस्त २७ देखि दिसेम्बर ४ सम्म सञ्चालन गर्ने ’फल सेसन’ अन्तरगत बालबालिकाहरुलाई नेपाली भाषा, कला, साहित्य, संस्कृति, योग–ध्यान, कम्युटर, पारिवारिक आर्थिक समृद्धि एवम् नेतृत्व विकास लगायतका विभिन्न विषयहरुमा कक्षा संचालन हुनेछन् ।

यस अघि नै नियुक्त गरिएका नेपाली भाषामा विज्ञ तथा शिक्षण पारंगतहरुवाट अध्ययन गरिने यस कक्षाहरु विदाको दिन पारेर शनिवार र आईतवार संचालन हुने जनाइएको छ । आ–आफ्ना विषय अन्तरगत फरक–फरक समयमा संचालन हुने यस कक्षाहरुमा नेपाली र मोरल साईन्स, पव्लिक स्पिकिगं र लिडरसिप, अतिरिक्त क्रियाकलाप योगा लगायतका कक्षाहरु नेपाली भाषामा अध्ययन अध्यापन हुनेछ ।

नेपाली समाज टेक्सासले संचालन गर्दै आएको र टेक्सासमा निकै लामो इतिहास बनाएको यस पाठशालाले टेक्सास मात्र नभएर अमेरिकाभरि हजारौ नेपाली बालबलिकाहरुलाई नेपाली भाषा, साहित्य, संस्कृति र संस्कार सिकाउने कक्षाहरु संचालन गर्दै आइरहेको नेपाली समाज टेक्सासका महासचिब सन्देश उप्रेतीले बताए ।

अत्यन्त न्यून शुल्कमा अध्ययन हुने कक्षाहरु “अनलाईन” र “फेस–टु–फेस” दुवै माध्यमबाट सञ्चालित हुनेछ । प्रवासी नयाँ पुस्ताका बालबालिका लक्षित यस पाठशालाले आफ्नै पाठ्यक्रम ढाँचा र पाठ्यपुस्तक तयार गरेर पठन पाठनलाई निरन्तरता दिंदै आएको छ ।

नेपाली भाषा, कला, संस्कृति लगायतका नेपाली अस्तित्व र पहिचान बोकेका विषयलाई नयाँ पुस्तासम्म विस्तार गरेर मातृभूमि नेपाल र नेपाली बिच सेतुको भूमिकामा रहने लक्ष्यका साथ यस पाठशालाले प्रभावकारी कार्यक्रम सहितका कक्षाहरु संचालन गर्दै आएको छ । हाल करिब २०० बढी बिद्यार्थीले अध्ययन गरिरहेको नेपाली पाठशाला टेक्सासका कार्यबाहक प्रिन्सीपल पशुपति तिम्सिनाले जानकारी दिए ।

नेपाली अक्षर सिकाइदेखि बृद्ध हजुरबा हजुआमाका जीवनसम्मका वास्तविकतालाई महत्वमा राखेर अघि बढेको भाषा पाठशालाले अमेरिकाका सबै राज्यसहित नेपालीहरु रहेका अन्य देशका बालबालिकाहरुलाई पनि भर्ना लिंदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्