Logo

समानुपातिकमा किन देखिएन आकर्षण



काठमाडौं, १३ भाद्र । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फ पर्न प्रतिष्पर्धा चलिरहेको छ । तर, विगतमा जस्तो समानुपातिकमा पर्ने प्रतिष्पर्धामा कमैको मात्र आकर्षण रहेको छ ।

बन्दसूचीमा परेपनि निर्वाचित हुने सम्भावना कम हुने भएकाले धेरैका लागि समानुपातिकमा आकर्षण कम रहेको हो । समानुपातिकतर्फ ११० सिट रहेकोमा विभिन्न जाति जनजाति, लिङ्ग, क्षेत्र र समुदायकाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले पार्टीहरुले पठाउने बन्दसूचीमा पुरुष सांसद बन्ने सम्भावना नै कम हुन्छ ।

प्रत्यक्षतर्फ कम्तिमा १ सिट जित्नैपर्ने र समानुपातिकतर्फ पनि कम्तिमा ३ प्रतिशत मत हासिल गर्नुपर्ने भएकाले पनि साना दलहरुमा यसप्रति आकर्षण कम छ । ठूला दलमा पनि आकर्षण विगतमा जस्तो छैन । २०७४ को चुनावमा राप्रपाले एक सिट जितेपनि ३ प्रतिशत कुल मत ल्याउन सकेन त्यसकारण उसका कुनैपनि समानुपातिक सांसद निर्वाचित भएनन् । विवेकशील साझाले पनि २ प्रतिशतभन्दा बढी मत ल्याएको थियो । उसले प्रत्यक्षतर्फ पनि जितेन र ३ प्रतिशत कटाउन सकेन । उसको पनि कुनैपनि सांसद निर्वाचित भएनन् ।

समानुपातिकतर्फ नेकपा एमालेका ४०, नेपाली काँग्रेसका ४१, नेकपा माओवादी केन्द्रका १७, राजपा र संघीय समाजवादी फोरम दुवैका बराबर ६ सांसद निर्वाचित भएका थिए । यसपटकको चुनावमा नयाँ दल र समूह पनि देखिएका छन् । यसकारण दलहरुलाई समानुपातिकतर्फ विगतको जत्तिकै सिट जित्न चुनौती देखिएको छ । यसको हिसाबकिताब गरेर पनि यसअघि समानुपातिकमा परेका र बन्दसूचीमा रहिसकेकाले सकेसम्म प्रत्यक्ष चुनावी प्रतिष्पर्धाका लागि टिकट पाउने दौडधूप चलाएका छन् ।

एमालेले यसअघि समानुपातिक सांसद रहिसकेकालाई बन्दसूचीमा नराख्ने निर्णय लिइसकेको छ । काँग्रेसभित्र पनि यस्तै निर्णयको सम्भावना छ । माओवादीभित्र पनि यस्तै चर्चा छ । यसकारण पनि समानुपातिकमा भन्दा प्रत्यक्ष चुनाव लड्न कतिपय नेताहरु सक्रिय भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot