Logo

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा संस्कृतिका पुस्तकको बिक्री बढी



काठमाडौँ,१३ भदौ । नेपाल प्रज्ञा प्रतिष्ठानले १५७औँ मोती जयन्तीका अवसरमा आयोजना गरेको दुई हप्ते पुस्तक प्रदर्शनीमा संस्कृतिका विषयमा लेखिएका पुस्तकको बिक्री बढेको छ । प्रतिष्ठानले गत साउन ३० देखि यही भदौ १२ गतेसम्म प्रतिष्ठानको भानुभक्त कक्षमा प्रदर्शनी आयोना गरेको थियो ।

प्रदर्शनीमा राखिएका पाँच सयभन्दा धेरै थरिका पुस्तकमध्ये संस्कृतिविद् हरिराम जोशीले लेखेको ‘प्राचीन अभिलेख’ नामक पुस्तक धेरै बिक्री भएको व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिए । यसैगरी पण्डित कुलचन्द्र शर्मा गौतमले टीका लेखेको ‘अमरकोश’, शिवराज श्रेष्ठ मल्लको ‘मानवयात्रा’, विष्णुप्रसाद शर्मा पराजुलीको ‘कर्णालीका दर्शन परम्परा’ नामका पुस्तक बढी बिक्री भएको उनले सुनाए । प्रदर्शनीमा रु तीन लाख बराबरका पुस्तक बिक्री भएका छन् ।

प्रतिष्ठानले वर्षमा चार पटक पुस्तक प्रदर्शनीको आयोजना गर्ने गरेको छ । नयाँ वर्षका अवसरमा वैशाख, प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा असार, मोतीजयन्तीका अवसरमा भदौ र पृथ्वीजयन्तीका अवसरमा पुसमा पुस्तक प्रदर्शनी गर्दै आएको छ ।

प्रतिष्ठानले हरेक व्यक्तिका हातमा पुस्तक पु¥याउने उद्देश्यसहित पुस्तक पढ्ने बानीको विकास गराउने लक्ष्य राखेको छ । प्रदर्शनीमा भाषा, साहित्य, प्रतिष्ठानले प्रकाशन गरेका पत्रिकालगायत राखिएको थियो । पुस्तकमा १५ देखि ४० प्रतिशतसम्म छुट दिइएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्