Logo

राप्रपाले एमालेको सहकार्यमा एउटा होइन, धेरै सिट जित्छः भुवन पाठक



काठमाडौं, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले आफ्नो पार्टी नेकपा एमालेसँग गठबन्धनको नजिक पुगेको बताएका छन् । “नेकपा एमालेसँगको कुराकानी सकारात्मक रुपमा भइरहेको छ । तर ठ्याक्कै भन्ने स्थिति चाहिँ छैन । गठबन्धन भनेको सहयोग लेनदेन हो । कति लिने, कति छाड्ने छलफलमै छौं । सहमति नजिक नजिक पुगेका छौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाठकले भने ।
उनले आगामी निर्वाचनमा राप्रपाले एमालेको सहकार्यमा धेरै सिट जित्ने दाबी पनि गरे । पाठकले थपे, “एमालेको सहयोगले हामी जित्छौं, हाम्रो सहयोगले एमाले जित्छ । यसपटक हामी एक सिट होइन, धेरै सिट जित्छौं । स्थानीय तहको निर्वाचन र जनताको आकर्षण त्यसको आधार हो । झापामा कम्तीमा तीनवटा क्षेत्र, रुपन्देहीका दुईतीन क्षेत्र, नवलपरासी दुईवटा, कपिलवस्तु, काठमाडौंमा पनि राप्रपाको सम्भावना छ ।”
कुन कुन नेता कहाँ कहाँ लड्दै छन् भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “धादिङमा बुद्धिमान तामाङ नै लड्नुहुन्छ । नुवाकोटमा डा. प्रकाशचन्द्र लोहनी उठ्नुहुन्छ । म काठमाडौं–२ बाट लड्छु ।”
राप्रपा महामन्त्री पाठकले राजावादी र गणतन्त्रवादीको सहकार्य सैद्धान्तिक नभएको बताए । उनले भने, “हामीबीच सैद्धान्तिक सहकार्य होइन, निर्वाचनको सहकार्य हो । स्थानीय तहमा कांग्रेस र एमाले दुवैसँग भयो । झापाको दमकमा कांग्रेससँग भयो, चितवनको भरतपुरमा एमालेसँग भयो । गठबन्धन बाध्यता हो । सबै दल एक्लाएक्लै लडेको भए जनताले विकल्प छनोट गर्न पाउँथे ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot