Logo

विनोद चौधरी नवलपरासी–१ मा आउनुभयो भने म आफ्नो क्षेत्र छाडेर भाग्ने कुरा आउँदैनः हृदयेश त्रिपाठी



काठमाडौं, १५ भदौ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृयदेश त्रिपाठीले नेकपा एमालेसँग आफ्नो पार्टीको सिट तालमेल हुने बताएका छन् ।
“नेकपा एमालेसँग तालमेलबारे प्रारम्भिक छलफल भएको छ । तर मूर्त रुप लिइसकेको छैन । मुलुकको निर्वाचन प्रणालीका कारण कुनै पनि दलको एकल बहुमत नआउने अवस्थामा गठबन्धनको राजनीति अनिवार्य बाध्यताजस्तो भयो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने ।
एमालेका नेताहरुले एकल रुपमै जान्छौं भने पनि तालमेलको आवश्यकता रहेको उनले औंल्याए । त्रिपाठीले भने, “भारतमा युपिए, एनडिए हामीकहाँ पनि दुइटा गठबन्धन स्पष्ट रुपमा हुने नै भयो । निर्वाचनपछिको गठबन्धन ठगबन्धन हुन्छ, त्यसैले निर्वाचनअघिको गठबन्धन राम्रो हो । त्यसलाई जनताबाट अनुमोदित पनि मान्न सकिन्छ । एमालेले पनि कोसँग सहज हुन्छ, त्यसअनुसार गठबन्धन गर्छ । तर गठबन्धनले कुनै आकार आइसकेको छैन । उनले नागरिकता विधेयक फर्केपछि एमाले नेताहरुसँग कुनै कुराकानी नभएको पनि बताए । २०७४ को संघीय निर्वाचनमा त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहले सूर्य चिह्न लिएर सहभागी भएको थियो ।”
तपाईं निर्वाचन क्षेत्र नवलपरासी–१ मा कांग्रेसबाट उद्योगपति विनोद चौधरी आउनु हुनेभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “नवलपरासी–१ मेरो आफ्नो गाउँ, ठाउँ हो । मबाट अनगन्ती त्रुटि भए होलान् । तर थुप्रै काम पनि भएका छन् । त्यसैले म विजयी वा पराजित जे भए पनि यहीँबाट हुने हो । मित्र विनोदजी आउनुभयो भने पनि म आफ्नो क्षेत्र छाडेर भाग्ने कुरा आउँदैन । जय पराजय जे होला मुलुकको राजनीतिलाई यहाँसम्म आइपुग्दा मैले पश्चात्ताप गर्ने स्थिति छैन ।”
उनले उद्योगपति विनोद चौधरी नवलपरासी–१ भन्दा नवलपुर–१ मा उठ्नु राम्रो हुने सुझाव पनि दिए । त्रिपाठीले भने, “नवलपरासी–१ मा उहाँको योगदान के कति होला ? नवलपुर–१ मा त बरु उद्योगधन्दाका कारण उहाँको योगदान होला ।”
शीर्ष नेताहरुले निर्वाचनबाट राजनीतिक कार्यकर्तालाई पलायन गराउन खोजेको आरोप पनि उनले लगाए । त्रिपाठीले भने, “अर्थतन्त्र त बिचौलियाको हालतमा छँदै छ । अब राजनीति पनि बिचौलियाको हातमा जाने भए बेग्लै कुरा हो । राजनीतिक कार्यकर्ता र धनवान्बीच निर्वाचन गराउन मिल्छ ? दलपतिले निर्वाचनबाट राजनीतिक कार्यकर्तालाई पलायन गराउन खोज्नु विडम्बना हो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot