Logo

बनेपा र पाँचखालमा महोत्सव हुने



काठमाडौँ,१५ भदौ । दसैँ पर्व नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकको बनेपा र पाँचखालमा महोत्सव हुने भएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित पाँचखाल युनाइटेड फुटबल एशोसिएशनको आयोजनामा आगामी असोज ३ देखि १६ गतेसम्म ‘तेस्रो पाँचखाल महोत्सव’ हुने र मञ्जुश्री फाउण्डेशनको आयोजनामा बनेपामा पहिलो पटक ‘बनेपा म्युजिक फेस्टिभल’ हुने भएको छ ।

घरासायी तथा निजी क्षेत्रको व्यापार र कृषि तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘तेसो पाँचखाल महोत्सव २०७९’ पाँचखालमा हुन लागेको एशोसिएशनका अध्यक्ष मिलन श्रेष्ठले बताए । विशेषगरी चाडपर्व लक्षित विशेष सहुलियतमा सामान बिक्री गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । करिब ३० लाख लागत लाग्ने अनुमान गरिएको महोत्सव ६० हजारले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव संयोजक गणेशप्रसाद काफ्लेले बताए । यसअघि पनि एशोसिएशनले दुई पटक महोत्सव गरिसकेको छ ।

पाँचखाल नगरपालिका–४ का वडाध्यक्ष सुन्दर लामाले फुटबल एशोसिएशनले आयोजना गर्ने महोत्सवले पाँचखालको पहिचान स्थापित गर्न मद्दत पुग्ने बताए । फर्मस कर्पोरेशनको सहयोगमा आगामी भदौ १८ गते बनेपाको लायकुमा साङ्गितीक महोत्सव(म्युजिक फेस्टिभल) गर्ने भएको छ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने र लायकु दरवारको प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको हो । सो क्रममा राष्ट्रियस्तरका म्युजिकल ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot