Logo

मेरो प्राथमिकता चितवन–२ होः उमेश श्रेष्ठ



काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ केही दिनदेखि चितवनमै छन् । उनले नेपाली कांग्रेसका तर्फबाट चितवन–१ र चितवन–२ दुवै संघीय निर्वाचन क्षेत्रमा उम्मेदवारीको दाबी गरेका छन् ।
“विगत १० वर्षदेखि म राजनीतिमा क्रियाशील छु । दुई कार्यकाल समानुपातिक सांसद भएँ । अब प्रत्यक्षमा लड्ने सोच बनाएर राजनीतिक र सामाजिक कार्यक्षेत्रमा लागेको छु । भोजपुरमा जन्मे पनि म ३२ वर्षदेखि चितवनमा बसेको छु । मैले चितवनका दुइटा क्षेत्रमा दाबी गरेको छु । तर मेरो घर भएको क्षेत्र चितवन–२ हो । मेरो प्राथमिकता पनि यही हो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले भने ।
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को निर्वाचन क्षेत्र भएकाले चितवन–३ मा दाबी नगरेको पनि बताए । श्रेष्ठले भने, “अझ भन्ने हो भने मैले सामाजिक कार्य गरेको क्षेत्र चितवन–३ हो । गठबन्धनबाट उहाँ उठ्ने पक्का भएकाले यसपटक मैले दाबी गरिनँ ।” साथै उनले जुन क्षेत्रबाट सिफारिस भए पनि देशभरिको कुनै पनि क्षेत्रमा गएर लड्ने सकिने औंल्याए ।
जित्ने व्यक्तिलाई टिकट दिए आफूले सघाउने पनि श्रेष्ठले बताए । उनले थपे, “चितवनमा हामीले संघका लागि दुइटा सिट पाउँछौं । चितवनमा धेरै योग्य नेताहरु हुनुहुन्छ । त्यसमा जित्ने व्यक्तिलाई सिफारिस गरौं । म सेवा गर्न आएको हुँ । म कुनै विद्रोह गर्दिनँ । मभन्दा योग्य मानिसले लडून् जितून् पनि । टिकट पाउनेलाई नेता मानेर म दिल खोलेर सहयोग गर्छु ।”
गठबन्धनमा कांग्रेसले सय सिट पाउनु स्वाभाविक भएको पनि राज्यमन्त्री श्रेष्ठले बताए । उनले भने, “नेपाली कांग्रेस धेरै पुरानो राजनीतिक पार्टी हो । यहाँ धेरै योग्य व्यक्तित्व हुनुहुन्छ । सय सिट लिँदा पनि धेरै नेताले टिकट नपाउने स्थिति हुन्छ । त्यसैले सयभन्दा नघटाई सिट लिएर जिताउनुपर्छ । होइन भने टिकट बाँड्न सकस हुन्छ ।”
जस्तोसुकै अवस्था आए पनि गठबन्धन कायम हुने पनि उनले औंल्याए । श्रेष्ठले भने, “अन्तिम क्षणमा गएर भाँडिन्छ जस्तो लाग्दैन । धेरै छुच्चो हुने काम गर्नुहुँदैन । भोलि कम्युनिस्टहरु एक भए भने के हुन्छ ? पार्टी सभापतिलाई अप्ठ्यारोमा पारेर पार्टीलाई क्षति गर्नु हुँदैन ।” जनचाहना अनुसार काम गर्न कांग्रेसको बहुमत आवश्यक हुने पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot