Logo

जुम्लाकोटमा एक घर एक धारा



काठमाडौँ,१७ भदौ । जुम्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा ‘एक घर एक धारा’ निर्माण हुँदा स्थानीय बासिन्दालाई राहत भएको छ । एउटै धारोमा घण्टौँसम्म पालो कुरेर बस्नुपर्ने स्थानीयको बाध्यता अहिले हटेको स्थानीय बासिन्दा धनलाल बस्नेतले बताए । विसं २०५९ मा बनेको धारा जीर्ण भएको र पानीको मुहान सुकेपछि खानेपानीले काकाकुल जस्तै बनेको सो वडाको जुम्लाकोट गाउँमा अहिले एक घर एक धारा पुगेको तिला गाउँपालिका उपाध्यक्ष गेरीकला बुढाले जानकारी दिए ।

अनुकूलन कोषको आर्थिक सहयोग वन तथा वातावरण मन्त्रालय र विश्वखाद्य कार्यक्रमको प्राविधिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले एक घर एक धारा कार्यक्रम ल्याएको पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए।

धारामा पानी आएर स्थानीयले खानेपानीको प्रयोग गरिसकेका छन् । कूल ६९ लाख ९२ हजार रुपैयाँको लागतमा खानेपानी धारा निर्माण भएको छ । बीस घनमिटरको दुई पानी सङ्कलन ट्याङ्की बनेका छन् । अब पानी ल्याउन टाढा जानुपर्दैन । समयकोसमेत बचत भएको जुम्लाकोटका स्थानीय बासिन्दा बताउँछन् ।रासस

 



प्रतिक्रिया दिनुहोस्