Logo

“क्रान्ति सकिएपछि माओले हल्ला नगर पढ भने, हाम्रा नेताहरूले ढुंगा हान्न आइज, ताला लगाउन आइज भने, पढ भन्दै भनेनन्”



काठमाडौं, १८ भदौ । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले कक्षा १२ को नतिजा खस्किनु विद्यार्थीको मात्र कमजोरी नभएको टिप्पणी गरेका छन् ।
“नतिजा खस्कनु केटाकेटीको दोष होइन । मुख्य कुरा केटाकेटीमा पढ्ने रहर नै भएन । नपढीकन पास भइन्छ भन्ने पर्‍यो । शिक्षकले उच्च शिक्षामा के पाइन्छ भन्न सकेनन् । चीनमा माओले क्रान्ति सकिएपछि तिमीहरुको काम हल्ला गर्ने होइन, पढ्ने हो भने, हाम्रा नेताहरुले ढुंगा हान्न आइज, ताला लगाउन आइज मात्र भने, पढ कहिल्यै भनेनन्,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शिक्षाविद् डा.कोइरालाले भने ।
ग्रेड नपाउने ५२ प्रतिशत विद्यार्थीले अब के गर्ने भन्ने पत्रकार धमलाको प्रश्नमा डा. कोइरालाले जोड दिए, “युरोप–अमेरिकामा फेल भन्ने भाषा प्रयोग गरिँदैन । प्रतिभाशाली छ भने उच्च शिक्षामा जाने हो । नत्र सानातिना प्रावधिक शिक्षा लिने हो । ती केटाकेटीलाई मोबाइल मर्मत, डेरी, ढकिया बनाउने सीप दियो भने गरिखान सक्छन् ।”
विद्यार्थी संगठनभन्दा दलको भातृसंगठनका कारण त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी भएको उनको आरोप छ । डा. कोइरालाले भने, “म तालाबन्दी गर्नेलाई दोष दिन्नँ, यो दलको नेतृत्वको दोष हो । नेविसंघ, अनेरास्ववियु विद्यार्थी संगठन होइनन्, भातृसंगठन हुन् । विद्यार्थी संगठनले पो विद्यार्थीको हित हेर्छ, भातृसंगठनले आफ्नो मालिकको आदेश पालनामात्र गर्छ । देश बनाउने हो भने नेतृत्वले सोच्नुपर्छ । नौटंकी छाड्नुपर्छ ।” नीतिगतभन्दा नियत सुधार गरे मात्र शिक्षा क्षेत्रमा सुधार आउने उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्