Logo

बढ्यो विशिष्ट कक्षको दुरुपयोग



काठमाडौं, भदौ १९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग हुने गरेको छ । भनसुन, चिनजानका आधारमा पहुँचवालाबाट विशिष्ट व्यक्तिलाई आमन्त्रण गर्ने र त्यसैको आडमा विशिष्ट कक्ष दुरुपयोग बढेको छ । गत जेठको अन्तिमदेखि भदौ १७ सम्म दुई महिनामा यस्तै दुईवटा घटना सार्वजनिक भएका छन् । यी सार्वजनिक भएका ठूला घटनामात्र हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अधिकारी आफूहरूले सम्हाल्नै गाह्रो हुनेगरी विशिष्ट कक्ष प्रयोगका लागि अनुमति माग भई आउने गरेको बताउँछन् । यस्ता घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको छ ।

शुक्रबारमात्र उक्त विशिष्ट कक्ष प्रयोग गरी एक अभियुक्त फरार भए । फरार गराउन संवैधानिक आयोगका अध्यक्ष नै संलग्न भएको सार्वजनिक भएको छ ।संयुक्त अरब इमिरेट्स (यूएई) अरब संसद्का उपाध्यक्ष अरब मोहम्मद अहमद मोहम्मद अहमद अल यामाहीसहित तीनजना संसद्को टोली शुक्रबार नेपाल भ्रमणमा आएको थियो । मुस्लिम आयोगको निमन्त्रणमा आएको टोलीमा सुनसरीका रिजवान आलमले विशिष्ट कक्ष प्रयोग गरेको पुष्टि भएको छ ।

त्यसक्रममा आलमको ०६३२४१२२ नम्बरको पासपोर्ट चेक–जाँच गर्दा फरार अभियुक्त खुलेपछि भीआईपी कक्षबाट बाहिरिन नागरिक उड्डयन कार्यालयले रोक लगाएको थियो । तर त्यसअघि नै अध्यक्ष अन्सारीको गाडीमा बसेर आलम फरार भइसकेको प्रहरीले जनाएको छ । दाउद हुसेनको मुद्दामा फरार रहेका आलमलाई पक्राउ गर्न इन्टरपोलमार्फत नोटिससमेत जारी भएको थियो । दाउद हुसेनका छोरालाई डाक्टर पढाउने भन्दै एक करोड ६८ लाख ठगेको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ ।

विशिष्ट कक्षबाट भागेका उनलाई प्रहरीले नक्सालस्थित होटल मेरियटबाट शुक्रबार राति पक्राउ गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विमानस्थलबाट फरार आरोपीलाई पक्राउ गरिएको बताउनुभयो । अरबबाट आएको सांसद टोलीसहित विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिनेक्रममा नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले टोलीको सदस्य बनाएर आरोपी आलमलाई आफ्नो गाडीमा राखेर बाहिरिएका थिए ।

नागरिक उड्डयन कार्यालयको अनुमतिबिना फरार आलमलाई आफ्नो गाडीमा राखेर भगाएको आरोप आयोगका अध्यक्ष अन्सारीमाथि लागेको छ ।
यसअघि गत जेठ ३१ गते यूएईका राजपरिवार सदस्य शेख मोहम्मद मोक्तोम जुमा अल्मक्तौमले नेपाल आउँदा पनि विशिष्ट कक्ष दुरुपयोग गरेका थिए ।

व्यवसायी दुर्गा प्रसाईको निमन्त्रणामा आएका जुमाले विशिष्ट कक्ष प्रयोग गरी झापा पुगेर प्रसाईंलाई सुनजस्तै देखिने लौरो उपहार दिएका थिए । विमानस्थलको जानकारीबिना नै बाहिरिएको लौरोको वास्तविकता खुल्न सकेको छैन । प्रसाईं र जुमाबीचको भेटघाट रिजवान आलमले नै मिर्लाएका थिए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot