Logo

चक्रपथ दोस्रो खण्ड विस्तारमा चिनियाँ पक्षबाट बेवास्ता



काठमाडौं, भदौ १९ । उपत्यका चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड निर्माणमा चिनियाँ पक्षले बेवास्ता गरेको पाइएको छ ।

चिनियाँ सरकारले अनुदान सहयोगमा विस्तार गर्ने कलंकीदेखि महाराजगन्ज खण्ड विस्तारमा कम प्राथमिकता दिइएको छ ।

पछिल्लो समय नेपाल पक्षले ‘साइट क्लिअर’का सबै काम सम्पन्न गरेर विस्तारका लागि तीन महिनाअघि नै चिनियाँ पक्षलाई पत्राचार गरेको थियो । तर, चिनियाँ पक्षले कोभिड बहाना बनाउने गरेको छ । चीनले कोरोना कम भएपछि मात्र चक्रपथ निर्माणका लागि प्राविधिक टोली नेपाल आउने जनाएको छ ।

परराष्ट्रमन्त्री डा। नारायण खड्काको औपचारिक चीन भ्रमण क्रममा पनि चक्रपथ विस्तार विषय उठान भएको थियो ।
चीनको स्टेट काउन्सिलर र पराराष्ट्रबीचको भेटमा निर्माण कार्य यथाशीघ्र सुरु गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

चक्रपथ आयोजना प्रमुख मेघराज मरासिनी ‘साइट क्लिअरका सबै काम सम्पन्न भइसकेकाले अब चिनियाँ टोली आएर काम थाल्न मात्र बाँकी रहेको’ बताउँछन् । ‘हामीले पछिल्लोपटक तीन महिनाअघि नै साइट क्लिअर सम्पन्न भएको पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘उहाँहरूबाट कोभिड कम भएपछि मात्र आउने कुरो भएको छ ।’

आयोजना दोस्रो खण्ड विस्तार तयारी थालेको तीन वर्ष बित्दासमेत ‘साइट क्लिअर’बाहेकका काम अझै अघि बढ्न सकेको छैन ।
यसअघि, गत पुस पहिलो साता चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने चक्रपथ स्थलगत निरीक्षण गरेको थियो । त्यसबेला टोलीले स्वयम्भूका दुई विद्युत्का टावर नहटाएप्रति प्रश्न गरेका थिए ।

स्वयम्भू र सानो भ(याङमा रहेका दुईवटा ६६ केभीको बिजुलीका टावर नेपाल विद्युत् प्राधिकरणले हटाएसँगै दोस्रो खण्ड विस्तारका लागि चिनियाँ पक्षलाई काम सुरु गर्न बाटो खुला भए पनि ढिलाइ भइरहेको छ ।

चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्डमा नेपालले पहिला ‘साइट क्लिअर’ अर्थात् रुख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । यसपछि मात्र चिनियाँ पक्षले सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले ‘सर्भिस ट्र्याक’ बनाउनुपर्ने हुन्छ ।

चिनियाँ पक्षले यसअघि शत्प्रतिशत ‘साइट क्लिअर’ नभएको कारण देखाउँदै विस्तार कार्य सुरु गर्न आनाकानी गर्दै आएको थियो । पछिल्लो समय भने ‘कोभिड’ कारण देखाइएको छ ।

गत पुसमा चार सदस्यीय चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने कलंकीदेखि महाराजगन्जसम्मको करिब ८ दशमलव ५ किमी सडक स्थलगत अध्ययन गरेर ‘साइट क्लिअर’ भएको प्रतिवेदन चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीलाई दिएसँगै काम थाल्ने जनाइएको थियो । तर, चिनियाँ प्राविधिक टोली निरीक्षणपछि विस्तार गरिने सडकको ‘साइट क्लिअर’ नभएको रिपोर्ट बोकेर फर्किएको थियो ।

दोस्रो खण्डअन्तर्गत स्वयम्भू मन्दिरआसपासका स्थानमा भने नेपाल पक्षले ‘म्युचुअल अन्डरस्टान्डिङ’मा काम अघि बढाउने तयारी गरेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot