Logo

यती एअरलाइन्सले नयाँ विमान थप्यो, एटीआर ७२–५०० विमान काठमाडौंमा अवतरण



काठमाडौं, २० भदौ । यती एअरलाइन्सले एटीआर ७२–५०० विमान थप गरेको छ । कम्पनीले सेवा विस्तार गर्ने क्रममा छैटौँ विमान सोमबार दिउँसो ३ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो ।

यतीले ७० सिट क्षमताको उक्त विमान अस्ट्रेलियाको एभसन कम्पनीबाट लिजमा लिएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अस्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

एम एस एन नं. ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमान भन्दा पछिल्लो विमान भएको कम्पनीले दाबी गरेको छ ।

एटीआर विमानको जम्मा साइकल ७० हजार हुन्छ । एक अवतरणलाई एक साइकल गणना गरिन्छ । विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रवक्ता बर्तौलाले बताए ।

एटीआर ७२–५०० टर्बोप्रप विमानको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्छ । ७० सिटको क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पीडब्ल्यू १२७ इन्जिनहरूद्वारा सञ्चालित एटीआर ७२–५०० आकारको विमानको लागि उत्कृष्ट मानिन्छ ।

अन्य विमान भन्दा कम आवाज र कम्पन हुने तथा इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

यो विमानले नयाँ पुस्ताका जेटहरू भन्दा प्रति यात्रु–किमीमा लगभग ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्दछ र पुराना विमानहरू भन्दा तीन गुणा कम कार्बन उत्सर्जन गर्दछ । यती एअरलाइन्स दक्षिण एसियामा पहिलो कार्बन न्युट्रल एअरलाइन्स हो ।



प्रतिक्रिया दिनुहोस्