Logo

कृषि क्षेत्रको रूपान्तरण विना देशको विकास असम्भव : अध्यक्ष नेपाल



काठमाडौं, भदौ २१ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रको रूपान्तरण विना देशको विकास असम्भव भएको बताएका छन् । मंगलबार पार्टी कार्यालय आलोकनगरमा ६ वटा किसान सङ्गठनहरूको प्रतिनिधि मण्डलको ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

नेपालले कृषि क्षेत्रको रूपान्तरण विना देशको विकास असम्भव भएको भन्दै किसान सङ्गठनहरूले उठाएका मागहरू समय सान्दर्भिक भएको बताए । नेता नेपालले नेपालमा कृषि र वनसँग जोडिएका थुप्रै कार्यक्रमहरूलाई व्यवस्थित गरी आयात प्रतिस्थापन गर्नु नेपालको आवश्यकता औँल्याए । हामीहरू उदारवाद र दलाल पुँजीवादको चक्रमा फसेका छौ भन्दै अध्यक्ष नेपालले देशको अर्थतन्त्र आत्मनिर्भर गर्न कृषिलाई जीवनोपयोगी बनाउनु जरुरी भएको बताए ।

जसको लागि कृषि क्षेत्रको आधुनिकीकारण औजारीकरण गरेर रूपान्तरण गर्नुको विकल्प नभएको औँल्याउँदै उनले कृषि क्षेत्रको रूपान्तरणको लागि प्रतिनिधि मण्डलले ल्याएका ५७बुँदे मागहरू प्रति आफ्नो र आफ्नो पार्टीको ऐक्यवद्धता रहेको जनाए ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी ) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघ ( अप्फा ) का अध्यक्ष भैरव रेग्मी ,अखिल नेपाल किसान महासंघ ( क्रान्तिकारी ) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले संयुक्त रुपमा अध्यक्ष नेपाललाई ज्ञापन पत्र बुझाएका थिए । Photo : Mukunda kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot