Logo

“चोलेन्द्रशमशेरलाई सर्वोच्च अदालत फर्कन कसले रोक्छ ?” (भिडिओसहित)



काठमाडौं, २२ भदौ । नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग टुंगो नलाग्नुको जिम्मेवारी सत्ता गठबन्धन र सभामुख अग्निप्रसाद सापकोटाले लिनुपर्ने बताएका छन् ।

“सभामुख र गठबन्धनले ६ महिनासम्म महाभियोगको प्रक्रिया नै अगाडि बढाएनन् । त्यसैले महाभियोग पारित गराउन होइन अल्झाउन र तर्साउनका लागि रिसरागमा ल्याएको स्पष्ट हुन्छ । नेकपा एमालेले चार जना सांसद उहिल्यै पठाएको हो । चुनाव घोषणापछि लोकलाजले मात्र छलफल अघि सारिएको हो । गठबन्धनलाई महाभियोग नामको आत्मघाती गोलले पिरोलिरहेको छ । महाभियोग टुंगोमा नपुग्नु कानुनी रुपमा प्रस्ताव पारित नभएको ठानिन्छ । संसद्को कार्यकाल सकिएपछि चोलेन्द्रशमशेरलाई आफ्नो जिम्मेवारीमा फर्कन कसले रोक्छ ? जुन अभियोग लाग्यो, त्यो प्रमाणित भएन भने कसले रोक्छ ?” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भने ।

आफू नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला वा जो उम्मेदवार बने पनि विजयी हुने पनि उनले बताए । पण्डितले भने, “म अहिले पनि आफ्नै निर्वाचन क्षेत्रमा छु । उम्मेदवारको रुपमा प्रस्तावित छु । कांग्रेसभित्र शेखर कोइरालाबाहेक तीन जना प्रतिद्वन्द्वी छन् । सामुन्ने जो आउनुहुन्छ, उसैसित प्रतिस्पर्धा हुन्छ । यो विगतमा पनि जितेको क्षेत्र हो । फेरि पनि जित्छु ।”



प्रतिक्रिया दिनुहोस्