Logo

बजार अनुगमन सुरु, बजार झनै अस्तव्यस्त



काठमाडौं, असोज २२ । सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालेको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यसाथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरेको जनाएको छ ।

विभागले विशेषगरी नियमित बजार अनुगमन गर्दै आए पनि चाडपर्वमा खाद्यान्न, लत्ताकपडा र सवारीसाधनमा अनुगमन बढी केन्द्रित गरेको जनाएको छ । विभागका निर्देशक होमनाथ भट्टराईले विभागले तीजदेखि नै चाडपर्व लक्षित गरेर दैनिक चारवटा टोलीले अनुगमन गर्दै आएको जानकारी दिए ।

चाडपर्वमा हुन सक्ने कृत्रिम अभाव, मूल्य वृद्धि, मिसावट म्याद नाघेका सामान बिक्री नियन्त्रणका लागि अनुगमनलाई तीव्र बनाएको उनले बताए । चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खरिद–बिक्री बढी हुने हुँदा व्यवसायीबाट उपभोक्ता ठगिन बाध्य छन् ।

चाडपर्वका बेला बजारमा व्यवसायीले कालोबजारी, मूल्यवृद्धि, कम गुणस्तरका खाद्यान्न लेबलिङ गर्ने गरेका छन् । विशेषगरी खाद्यान्न, लत्ताकपडा, सवारीसाधनको टिकट काउन्टरमा बढी भीडभाड भई उपभोक्ता ठगिन सक्ने भएकाले पनि ती ठाउँमा अनुगमन बढी केन्द्रित गरिएको निर्देशक भट्टराईको भनाइ छ ।

विभागले डेढ साताअघिदेखि नै दैनिक चारवटा टोलीले तीन किसिमबाट अनुगमन गरिरहेको छ । हाल विभाग र हेलो सरकारमा आएका उजुरीको अनुगमन, नियमित अनुगमन, आकास्मिक अनुगमन गर्दै आएको निर्देशक भट्टराईले जानकारी दिए ।

उनका अनुसार सामान्य अवस्थामा दैनिक दुईवटा टोलीले अनुगमन गर्ने गरेकोमा अहिले दैनिक चारवटा टोलीले छुट्टाछुट्टै ठाउँमा गएर प्रत्येकले कम्तीमा पाँचवटा व्यवसायिक प्रतिष्ठानको अनुगमन गरेको छ ।

उपभोक्ता अधिकारकर्मीले सरकारको बजार अनुगमन नियमित भए पनि आम उपभोक्ताले राहतको महसुस गर्न नपाएको बताउँदै आएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot