Logo

नमुना मतपत्र छाप्न सुरु, ५०३ प्रकारका आठ करोड मतपत्र छापिने



काठमाडौं, भदौ २२। निर्वाचन आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु भएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरु हुने जानकारी दिए। पहिलो चरणमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि छ लाख मतपत्र छाप्ने छ। आमनिर्वाचनका लागि आवश्यक सबै मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा छापिने आयोगले जनाएको छ। जनक शिक्षा सामग्री केन्द्र स्रोतका अनुसार मङ्गलबार अपराह्न ४ बजेदेखि मतपत्र छाप्न सुरु भएको हो। जनक शिक्षा सामग्रीको दैनिक १२ देखि १५ लाख मतपत्र छाप्ने क्षमता छ।

मङ्सिर ४ मा हुने आमनिर्वाचनका लागि ५०३ प्रकारको करिब आठ करोड मतपत्र छापिनेछन्। आयोगको निर्वाचन शाखाका अनुसार समानुपातिकतर्फ चार करोड र पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ चार करोड मतपत्र छापिनेछन्।

आयोगले आगामी चुनावमा करिब एक करोड ८० लाख मतदाता कायम हुने अनुमान गरेको छ। कायम रहेको मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्दै आएको अभ्यास छ। आयोगले असोज २५ गतेभित्र मतपत्र छापिसक्ने लक्ष्य राखेको छ। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot