Logo

नेपाललाई दाबेदार टोलीको छवि फर्काउने सुनौलो अवसर



काठमाडौं, भदौ २२ । दक्षिण एसियाली फुटबलको उमेर समूहमा आफूलाई सधैं उपाधि दाबेदार टोलीको रूपमा उभ्याउँदै आए पनि नेपाल पछिल्ला केही वर्षयता भने सोही छवि फर्काउन संघर्षरत छ।

साफ यु-१७ च्याम्पियनसिप २०२२ मा नेपाललाई दाबेदार टोलीको छवि फर्काउने सुनौलो अवसर समेत बन्न सक्छ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा आज भुटानको सामना गर्दा नेपाल जितसहित साफ यु–१७ च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ।

भुटानमाथि नेपालको जितले समूह ‘बी’ को सेमिफाइनल समीकरण पूरा हुनेछ। खेल नेपाली समय अनुसार आज दिउँसो ३ः१५ मा सुरु हुनेछ। सोमबार पहिलो खेलमा साबिक विजेता भारतले भुटानमाथि ३–० को सहज जित निकालिसकेको छ। जसले उसको सेमिफाइनल प्रवेश सम्भावना पनि बलियो बनाएको छ।

प्रतियोगितामा सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजिन गरिएको छ। समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन्। समूह ‘बी’ मा नेपाल, भारत र भुटान छन्।

यो प्रतियोगिताको सातौं संस्करण हो। अहिलेसम्म नेपालले यस प्रतियोगिताको उपाधि जित्न सकेको छैन। सन् २०१३, २०१७ र २०१९ मा फाइनल प्रवेश गरे पनि नेपाल उपविजेतामा सीमित भएको थियो। तीनै पटक नेपाल भारतसँग निराश भएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot