Logo

१ हजार विद्यार्थी र १ सय ५१ विद्यालय बस चालक कारबाहीमा



काठमाडौं, भदौ २३ । विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन् ।

निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही शुरू गरेको हो ।

कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमतिपत्र नबोकेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले दिएको जानकारीअनुसार कारबाहीमा परेका अधिकांश विद्यार्थीलेसवारी चालक अनुमतिपत्र नबोकिकन मोटरसाइकलक चलाएका थिए ।

प्रहरीले दुई दर्जनभन्दा बढी स्थानमा चेक प्वाइन्ट राखेर चेकजाँच गर्ने गरेका थिए । बिहान साढे ५ देखि साढे ७ बजेसम्म भएको चेकजाचमा ट्राफिक प्रहरी कार्यालयले झण्डै ५० विद्यालयका १ सय ५१ जना बस चालकलाई कारबाही गरेको प्रवक्ता एसएसपी भट्टले बताए ।

तीमध्ये ३३ जना मादक पदार्थ सेवनमा, १० जना क्षमताभन्दा बढी विद्यार्थी चढाएकोमा कारबाहीमा परेका थिए भने साइड लाइट नबलेको, पुरानो सवारीसाधन चलाएको लगायतको कसुरमा १ सय ८ गरी चालक पक्राउ परेका छन् ।

ट्राफिक प्रहरीले नियमविपरीत बस सञ्चालन गरेको आरोपमा विद्यालय सञ्चालकलाई पनि सोधपुछ गरेको छ । यसअघि खासै चोकजाँच नभएका विद्यालय बस चालक र विद्यार्थी सवार मोटरसाइकलले विकृति बढाएको सूचना पाएपछि ट्राफिक कार्यालयले कारबाही शुरू गरेको हो । एक महिनाअघि प्याब्सन र एन प्याब्सनका अधिकारीसँग भएको बैठकमा विद्यार्थीले चलाएको सवारी र विद्यालयले सञ्चालन गरेको बसको चेकजाँच गर्ने सहमति भएको थियो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्