Logo

‘सुक्खा बन्दरगाह’मा भोटको राजनीति



कञ्चनपुर, भदौ २३ । जबजब चुनाव आउँछ, तबतब सुदूरपश्चिमस्थित कञ्चनपुरको ‘सुक्खा बन्दरगाह’ चर्चामा आउँछ । उसो त दोधारा–चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको चर्चा एक दशक अगावैको हो । बेलाबखतमा मुलुकको केन्द्रीय राजनीतिमा दख्खल राख्नेहरूले यो विषयलाई आफ्नो भाषणमा समेट्छन् ।

उनीहरूले ‘सुक्खा बन्दरगाह’ आफ्नो विकासे एजेन्डा भएको दाबी गर्दै जनतालाई चाँडै निर्माण थालिने समेत बताउँछन् । तर, नेताहरूले भनेजस्तो निर्माणको कार्य भने अहिलेसम्म शुरू हुनै सकेको छैन । नेताहरूले सो क्षेत्रमा पटक–पटक सम्भाव्यता अध्ययनदेखि स्थलगत अनुगमनसम्म गरेर फर्किन्छन् । तर, सुक्खा बन्दरगाह निर्माणमा अहिलेसम्म ठोस प्रगति नभएको त्यहाँका स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार ‘सुक्खा बन्दरगाह’ केवल नेताहरूको भोट बैंकका रूपमा मात्र सीमित बन्न पुगेको छ । स्थानीय निर्वाचन होस् या संसदीय चुनाव जहिल्यै नेताहरूले सुक्खा बन्दरगाहका नाममा भोटको राजनीति गर्ने गरेको स्थानीयको भनाइ छ ।

सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषयलाई सम्बोधन गर्दै आएको छ । तर, अहिलेसम्म सम्भाव्यता अध्ययनबाहेक प्रगति भएको छैन । सम्भाव्यता अध्ययनसँगै वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको दाबी गरिए पनि यसले पूर्णतासमेत पाएको छैन ।

कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण गर्ने भन्दै सुदूरपश्चिमका शीर्ष नेतालगायका पूर्व प्रधानमन्त्रीदेखि मन्त्रीसम्म पटकपटक पुगेर अनुगमन मात्रै गरेर जाने गरेको दोधारा–चाँदनीका स्थानीय धर्मसिंह विष्ट बताउन्छन् ।
नेताहरूले सुक्खा बन्दगाह मात्र होइन दैजी–छेला औद्योगिक क्षेत्र निर्माणलाई पनि भोट बैंककै रूपमा उपयोग गरिरहेको स्थानीयको गुनासो छ ।

केही समयअघि नेपालस्थित भारतीय दूतावास र इन्टरमोडल यातायात विकास समितिको संयुक्त टोलीले सुक्खा बन्दरगाह निर्माण हुने भनिएको दोधारा–चाँदनी नगरपालिका–१ को मायापुरी र गौरीशंकर सामुदायिक वनको स्थलगत निरीक्षण गरेको थियो । टोलीले जमिनको अवस्थादेखि भारतसँगको पहुँचलगायतका विषयमा जानकारी लिने काम गरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्